२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

अमेरिकी सहायक विदेशमन्त्री लुको चासो एमसीसीमा, ”मंसिर २८ को अनुदान लिने नलिने भन्नु”



काठमाडौँ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौताको अनुदान लिने की नलिने स्पष्ट पार्न भनेका छन् ।

तीन दिने नेपाल भ्रमणका क्रममा मुख्या चासो एमसीसीको अनुदानमा राखेका लुले शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा सम्झौता नेपालले लिने कि नलिने भन्ने यही मंसिर २८ गतेसम्म टुंगो लगाउन समयसीमा दिएका छन् ।

विगतमा माओवादीले एमसीसीको विरोध गरेको र उसैको कारण संसदबाट पारित हुन नसकेको बुझाइमा रहेको अमेरिकी सहायक विदेशमन्त्रीले दाहाललाई समयसिमा दिएका हुन् । अन्य नेताहरुसँग चासो राखेपनि यसरी समयसिमा दिएका थिएनन् ।

त्यतिन्जेलसम्म नेपालले टुंगो नगरे अमेरिकाले यो सहयोग अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने उनको भनाइ रहेको स्रोतले जनाएको छ ।

‘नेपालले एमसीसी सम्झौता अघि बढाउने कि नबढाउने भन्ने १४ डिसेम्बरसम्म भन्नु पर्‍यो । हुन्छ कि हुन्न भन्ने जवाफ चाहियो । नत्र अयन्त्र ट्रान्सफर गर्छौं भन्नु भएको छ’ दाहालसँगको भेटमा भएको कुराकानीबारे उनका स्वीकय सचिव रमेश मल्लले उल्लेख गरेको कान्तिपुरले लेखेको छ ।

यस सम्बन्धमा दाहालले भने विदेशीहरूको सहयोग लिने विषयमा नेपाल सकारात्मक नै रहेको तर एमसीसी सम्झौतामा पछि संसदीय अनुमोदन थपिएकोले बहस चलिरहेको बताएका थिए ।

त्यसअघि सहायमन्त्री लुले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेर एमसीसी बारे प्रश्न गरेका थिए । ओलीले आफुहरु प्रतिपक्षमा रहेका कारण सत्तारुढ दलले के भन्छ भन्ने कुरा हेरिरहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ४ : ३० बजे