ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ भने घाईते भण्डारीलाई थप उपचारको लागि मुम्बई लगिएको छ ।
कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हरिकलाको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिएका हुन् ।
उनका अनुसार आज बिहान करिब १० बजेर ५७ मिनेटमा उनको निधन भएको हो । हिजो राति ग्यास पड्किएर नेता डा भण्डारीसहित उनकी ८६ वर्षीया आमा हरिकला घाइते भएका थिए ।
बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको हो ।
उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि लगिएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित त्यसतर्फ लगिएको हो ।
हिजो राति घाइते भएका नेता डा भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।