११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

प्रचण्डबिरुद्ध मुद्दा लाग्ने भएपछि सबै माओवादी घटकहरु एकजुट, संयुक्त प्रतिवादको तयारी



काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई लिएर टुफफुटमा रमाइरहेका माओवादी घटकहरु एक ठाउँ आइपुगेका छन् ।

यसबारे छलफल गर्न पूर्व माओवादी घटकका नेताहरु सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका थिए । उनीहरुले सर्वोच्चको आदेशले संक्रणकालीन न्याय मर्ने भन्दै त्यसको मुकाविला गर्न सामुहीक रुपमा तयार हुने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूविरुद्धको मुद्दा रहस्यमय रहेको उल्लेख गरेका थिए । यसमा आन्तरिक तथा बाहिरी षडयन्त्र रहेको बताउँदै उनले ‘शान्ति सम्झौताको एकजना हस्ताक्षरकर्ताविरुद्ध किन आयो भन्ने कुरा रहस्यमय छ ।’ बैठक स्रोतका अनुसार उनले आफुबिरुद्धकव आदेश षडयन्त्रकार भएको र बाहिरका साम्राज्यवादीहरुले लागेको बताएका थिए ।

रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले यसअघि द्वन्द्वकालीन घटनाको अभियोगमा प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै रिट लिएर सर्वोच्च गएका थिए । सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट सर्वोच्चको आदेश अनुसार मंगलबार दर्ता भएको छ । यो घटनाले नजिकिएका माओवादी धारका नेताहरुलाई एक ठाउँमा ल्याएको छ ।

बैठकमा प्रचण्डले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’को रुपमा मनाउने र सशस्त्र द्वन्द्वमा मारिएकालाई राष्ट्रिय शहीद घोषणा गर्ने मन्त्रिपरिषदको निर्णयलाई मन नपराउनेहरु सक्रिय भएको बताए । ‘जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने निर्णय र जनयुद्धका शहीदलाई पनि राष्ट्रिय शहीद घोषणा गर्ने कुराले प्रतिगामीहरु अलिकति बढी सक्रिय भएको जस्तो देखिन्छ,’ उनको भनाइ थियो ।

छलफलमा सहभागी भएका माओवादीका अन्य घटकहरुले पनि यो प्रचण्ड विरुद्धको मात्रै नभए शान्ति सम्झौताविरुद्धकै मुद्दा भएको धारणा रोखका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  २ : १० बजे