१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

सुन तस्करीमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ



सुन तस्करसँगको साँठगाँठ देखिंदा पनि पक्राउ नगरिएको भन्दै व्यापक दवाव परेपछि प्रहरीले माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बुधबार पक्राउ गरेको छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका महरा बाबुछोरालाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकार र प्रहरीको व्यापक अलोचना हुँदै आएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेर अदालतबाट अनुसन्धानको लागि पाँच दिनको म्यादसमेत थप गरेको छ ।

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलिसकेको छ ।

महराले अर्का छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क गरेको सीआईबीले किटान गरेर प्रतिवेदन तयार पारिसकेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराका अर्का छोरा राहुलसँग २८ पटक सम्पर्क भएको देखिन्छ । राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक सम्पर्क गरेको देखिन्छ ।

सुन लुकाएर ल्याएको विद्युतीय चुरोट (भेप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेपछि त्यसलाई छुटाउनको लागि महराका बाबुछोराले विमानस्थलस्थित भन्सारका प्रमुखलाई फोन गरेर छुटाउन कोशिस गरेको समेत बताइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ५ : २७ बजे