भाइरल वडाध्यक्षका रुपमा चर्चित काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको हो ।
भाइरल संक्रमणपछि गत आइतबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका रिजालको उपचारको क्रममै मृत्यु भएको हो ।
रिजालको उपचारमा संलग्न चिकित्सकका अनुसार भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा उनको निधन भएको हो । जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि हिजो नै उनको डायलसिस पनि गरिएको थियो । चिकित्सकका अनुसार उनलाई कुन प्रकारको भाइरसको संक्रमण भएको हो भन्ने यकिन भने हुन सकेको छैन ।
सुरुमा अस्पताल आउँदा ठीकै जस्तो देखिएका रिजाललाई त्यसैदिन राति आईसीयूमा राखेर उपचार सुरू गर्नुपरेको थियो । सुरुमा १-२ लिटर मात्रै अक्सिजन चाहिएको उनलाई राति ६० लिटरसम्म दिनुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।
कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।
धादिङको खनियाँबासमा जन्मिएका रिजालले लैनचौरस्थित शान्ति विद्या गृहबाट एसएलएसी उत्तीर्ण गरेका थिए । अहिले भने उनको काठमाडौं-१६, बालाजुमा बसोबास रहेको थियो । रिजालका श्रीमती र २ छोराहरू रहेका छन् ।