६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

भूकम्पपीडितका लागि अस्थायी टहरा बनाउन २५ हजार तरुन्तै पाउने, झण्डै डेढ अर्ब निकासा



सरकारले पाँच जिल्लाका भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिएको जनाएको छ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम आजै (सोमबार) निकासा भएको हो । जाजरकोट र पश्चिम रुकुमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो ।

भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रति घरधूरी ५० हजार रुपैयाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए । पहिलो किस्ताको रुपमा २५ हजार रुपैयाँ तत्काल र बाँकी २५ हजार रुपैयाँ घर निर्माण पछि दिने उल्लेख छ ।

उक्त रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरिसकिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : ३८ बजे