८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने पक्का



नेपालबाट बंगलादेशले ४० मेगावाट बिजुली खरिद गर्न पाउने भएको छ । बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी) ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेपछि खरिद पक्का भएको हो ।

मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो । बैठकपछि मन्त्रिपरिषद् विभाग (समन्वय र सुधार)का सचिव मोहम्मद हुसेन खानले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेसहित १५ वटा प्रस्ताव स्वीकृत गरेको पत्रकारहरूलाई जानकारी दिए ।

प्रतियुनिट ८.१७ बंगलादेशी टाका (९ रुपैयाँ ३० पैसा) मा विद्युत् आयात गरिने बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् । भारतीय ग्रिड प्रयोग गरी नेपालबाट बिजुली आयात गर्नुपर्ने भएकाले भारतलाई प्रतियुनिट ०.०५९ रुपैयाँ व्यापारिक मार्जिन तिर्नुपर्ने बताइएको छ । बंगलादेशले भारतलाई प्रसारण लाइन प्रयोगबापतको शुल्क तिर्नुपर्ने भए पनि मूल्य तय भइसकेको छैन ।

विद्युत् आयातका लागि नेपाल र बंगलादेशबीच हुने सम्झौताको मिति तय भइसकेको छैन । सचिव खानले प्रधानमन्त्री शेख हसिनाको सम्भावित नेपाल भ्रमणको क्रममा विद्युत् आयात सम्झौता हुन सक्ने बताएका छन् । यद्यपि बंगलादेशी प्रधानमन्त्री हसिनाको भ्रमणका बारेमा केही तय भएको छैन ।

प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ भित्र विद्युत् निर्यात गर्ने प्रस्ताव गरेको थियो । तर बंगलादेशबाट जुन ११ मा बल्ल ४० मेगावाट बिजुली आयात गर्ने प्रस्ताव स्वीकृत भएको छ ।

बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । प्राधिकरणले फेब्रुअरी पहिलो साता बंगलादेशसमक्ष प्रस्ताव पेस थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ५ : ५७ बजे