५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

एनजीओको खाजाले विथोलियो राज्य व्यवस्थाको बैठक, सभापति रामहरी खतिवडा अप्ठ्यारोमा



प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आइतबारको बैठक एनजीओको खाजाले विथोलिएको छ । संघीय निजामती ऐन संशोधन विधेयकमाथि छलफल गर्ने गरी बैठक आइतबार विहान रािखए पनि एनजीओका मानिस खाजासहित उपस्थित भएको थाहा पाएपछि सांसदहरुले आपत्ति जनाएका थिए ।

समितिको बैठक बिहान ८ बजे राखिएको थियो । सांसदहरु बैठकमा पुग्नु अगावै टेबलमा ब्रेड, अण्डा, फलफुल र चनासहितको खाजाको प्याकका साथै चम्चा र काँटा सजाइएका थिए ।

पछिल्लो समय खाजा र खानाको व्यबस्था नभएकोमा एक्कासी खाजा देखेपछि सांसदहरु जिल्लिए । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले खाजा कस्ले खुवाउन लागेको हो भनेर जिज्ञासा राखेँ । त्यसपछि कांग्रेस र एमालेका अन्य सांसदहले पनि यस विषयमा प्रश्नहरु गरे ।

यसरी आपत्ति जनाउनेहरुमा एमालेका कृष्ण गोपाल श्रेष्ठ कांग्रेसकै ईश्वरीदेवी न्यौपाने, सरिता प्रसाईं, रापपाकी चन्दा कार्कीलगायत थिए । उनीहरुले गैरसरकारी संस्थाको खाजा खाएर कानुन बनाउने विषय गम्भीर हुने तर्क गरे ।

बैठकमा उपस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सांसदहरुले उठाएको विषयमा प्रष्ट्याउन समिति सभापति रामहारी खतिवडालाई आग्रह गरे । सभापति खतिवडाले संघीय मामिला मन्त्रालयले सहजीकरण गरेको जवाफ दिएका थिए ।

खाजा स्पोन्सर गर्ने संस्था नेसनल फोरम अफ पार्लियामेन्टेरियन अन पपुलेससन एण्ड डेभलपमेन्ट (एनएफपीपीडी) को नेपाल च्याप्टरका दुई जना प्रतिनिधि अरनिको राई र राम गुरागाईं समितिको सभाकक्षमै थिए । उनीहरुले कुनै होटलमा कार्यक्रम राख्नुभन्दा समितिमै गरौं, खाजा पनि खाऔं भनिएको तथा विधि र प्रक्रिया ख्याल गरिएको उल्लेख गर्दै समितिले पत्र काटेर नै आफुहरु आएको बताए ।

त्यसपछि गृहमन्त्री लामिछाने आफु यस्तो छलफलमा रहन नसक्ने उल्लेख गर्दै बैठकबाट बाहिरिए । सांसदहरुले पनि सभापति खतिवडाको आलोचना गरे । खतिवडा भने बैठक स्थगित भएको बताएर कार्यकक्षमा गए । कांग्रेस सांसदहरुले कार्यकक्षमै गएर सभापति खतिवडाको आलोचना गरे । उनीहरुले खतिवडालाई आफुमात्र नभइ पार्टीलाई नै बद्नाम गराएको भन्दै अलोचना गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  १० : ०३ बजे