पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङबुङस्थित एउटा घरको आँगनमा विष्फोट हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ ।
ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा बिहीबार अपराह्न साढे ३ बजे विस्फोट हुँदा २ जनाको मृत्यु भएको हो । के बिष्फोट भएको भन्ने खुल्न सकेको छैन ।
मृत्यु हुनेमा ज्ञानबहादुरका छिमेकी दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र २ वर्षीया छोरी प्रिन्सा साँवा रहेकी छन् । दुवैको उपचारका क्रममा मृत्यु भएको हो ।
विस्फोटमा ज्ञानबहादुरका दुई छोरा घाइते भएकामा एक जना बिहीबार नै डिस्चार्ज भएको र एक जनाको उपचार भइरहेको छ ।
बालबालिका खेलिरहेका बेला ठूलो आवाजसहित विस्फोट भएको थियो ।
विस्फोट भएपछि उक्त घर बिहीबारदेखि नै प्रहरीले घेरेर राखेको छ । अर्को शंकास्पद वस्तुसमेत देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्दै गरेको बताइएको छ ।









