१ असार २०८३, सोमबार | Mon Jun 15 2026

पोखरामा रािस्वपाका प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा, रविलाई थप ६ दिन हिरासत



सभापति रवि लामिछाने पक्राउ परेपछि प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथी प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीले निषेधाज्ञा जारी भएका स्थान पार गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।

कास्की जिल्ला प्रशासन कार्यालयले रवि समर्थक र सहकारी पीडित दुवै पक्षले प्रदर्शन गर्दा ट्ठडप हुन सक्ने भन्दै पोखराको केही स्थानहरुमा निषेधज्ञा जारी गरेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई भने आइतवार अदालत उपस्थित गराइएको छ । शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि प्रहरीले आइतबार कास्की जिल्ला अदालत लगेको हो ।

रविका समर्थकहरूले भने शुक्रबार रातीदेखि नै प्रदर्शन गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । पोखराको सडकमा समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ ।

सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रविलाई पक्राउ गरेको थियो । सूर्यदर्शन सहकारीका पीडितले पनि प्रदर्शन गरिरहेको छन् । यी दुवै समूहको प्रदर्शनस्थलको दूरी लगभग ५० मिटरको मात्रै छ ।

रविलाई ६ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत कास्कीले लामिछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । अनुसन्धान गर्न म्याद थपका लागि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।

सुरुवात मात्र हो

सरकारले भने लामिछानेको गिरफ्तारी सहकारी छानविनको सुरुवात मात्र भएको उल्लेख गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार सरकारले कारबाही अघि बढाएको बताए ।

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले संसदीय समितिले बुझाएको प्रतिवेदनउपर सरकारले आवश्यक थप अनुसन्धानसँगै कारबाही अघि बढाएको बताएका हुन् ।

पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरूले सरकारले लामिछानेलाई प्रतिसोधका आधारमा पक्राउ गरेको आरोप लगाइरहेका बेला मन्त्री गुरुङले सरकारले सर्वदलीय संसदीय समितिको प्रतिवेदनले कारबाही गर भनेका व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही थालिएको दाबी गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ५ : १३ बजे