१ असार २०८३, सोमबार | Mon Jun 15 2026

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य घटाउने प्रस्ताव, विद्याको प्रस्तावले ध्रुवीकरण बढेको ओलीको भनाई



नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा पार्टीको पदाधिकारी संख्या घटाउने प्रस्ताव पेश गरिएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान अधिवेशनका लागि तयार गरिएको मस्यौदा बैठकमा प्रस्तुत गर्दै अध्यक्षसहित ११ पदाधिकारीको प्रस्ताव गरेका हुन् ।

नयाँ प्रस्तावअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित ३ उपाध्यक्ष, महासचिव १, उपमहासचिव १ र ५ सचिव रहनेछ । हालको संरचनामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, ३ उपमहासचिव र ७ सचिव गरी जम्मा १९ पदाधिकारी रहेका छन् ।

यससँगै, पौडेलले केन्द्रीय कमिटी सदस्य संख्या १ सय ९९ कायम गर्ने प्रस्ताव पनि अघि सारेका छन् ।

यसअघि बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा प्रवेशले पार्टीभित्र ध्रुवीकरण बढाएको टिप्पणी गरेका थिए । च्यासलस्थित पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा ओलीले सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

“उहाँको प्रवेशले पार्टीभित्र ध्रुवीकरण बढायो,” ओलीले भने, “हामीले गणतन्त्रका सन्दर्भमा उहाँलाई सम्मान गरेका थियौं । तर अब उहाँले अध्यक्ष बन्ने घोषणा गर्नुभएको छ । अब संस्थागत निर्णय आवश्यक छ ।”

बैठकमा ओलीको उक्त धारणा आएपछि विधान, नेतृत्व संरचना र पूर्वराष्ट्रपति भण्डारीको भूमिकाबारे छलफल लम्बिएको बताइएको छ ।

बैठकमा विधान अधिवेशनमा भण्डारीलाई प्रतिनिधि बनाउने/नबनाउने लगायतका विषयमा छलफल भएको भएपनि निर्णय भएको छैन ।

पूर्वराष्ट्रपति भण्डारीले केही समयअघि आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छिन् । साथै, पार्टी अध्यक्ष बन्ने आकांक्षा पनि सार्वजनिक रूपमा व्यक्त गरेकी छिन्। तर, अध्यक्ष ओलीले भने नेतृत्व हस्तान्तरणको विषयमा स्पष्ट असहमति जनाइसकेका छन् । एमालेको विधान अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व संरचना र पूर्वराष्ट्रपतिको भूमिकालाई लिएर पार्टीभित्र तीव्र बहस सुरु भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ९ : २० बजे