प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । सचिवालयका अनुसार सोमबारदेखि जारी जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।
सोमबार मात्र प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि मंगलबार बिहानैदेखि देशभर आन्दोलन भड्किएको हो । प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, प्रहरी भवन लगायतमा आगजनी र तोडफोड गरेका छन् । संसद् भवन, सिंहदरबार र मन्त्रीहरूको निवाससमेत आक्रोशित भीडको निशानामा परेका छन् ।
नेपाली सेनाले मन्त्री र प्रदेश प्रमुखहरूलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारेको जनाएको छ । सेनाका एक अधिकारीका अनुसार, आक्रोशित प्रदर्शनकारीले नेताहरूको घरघरमा आगजनी गरेपछि सुरक्षाका कारण उनीहरूलाई विभिन्न स्थानमा लगिएको हो ।
ललितपुरको सुनाकोठीस्थित गंगा दाहालको घर, दहचोकस्थित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घर, बालकोटस्थित प्रधानमन्त्री ओलीको निवास, बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास, बुढानीलकण्ठस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवाससहित प्रमुख दलका नेताहरूको घरमा आगजनी तथा तोडफोड भएको छ । मन्त्रीहरूको सरकारी निवास भैंसेपाटीमा समेत आगजनी भएको छ ।
यस्तै, परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित निवास, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठीस्थित घर, ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठ घर, कांग्रेस महामन्त्री गगन थापाको रातोपुलस्थित निवास, एमालेका सचिव रघुवीर महासेठ र नेता सुरेन्द्र पाण्डेको निवासमा पनि आक्रमण भएको छ ।
राप्रपाका संघ र प्रदेशका सबै सांसदहरूले सामूहिक राजीनामा दिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आफ्ना सांसदहरूलाई राजीनामा गराउने तयारीमा रहेको बताइएको छ ।
प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, र नेताहरूको विलासी जीवनशैलीविरुद्ध आक्रोश पोखिरहेका छन् । सुरक्षा बलले लगातार अश्रुग्यास प्रहार गरी भिड नियन्त्रण गर्ने प्रयास गरे पनि आन्दोलन अझ उग्र बन्दै गएको छ ।










