२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

रवि लामिछाने पुनः कारागार फर्किए



सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राजनीतिक र कानुनी विवादको घेरामा रहेका बेला पुनः ललितपुरको नख्खु कारागार फर्किएका छन्। जेन-जी आन्दोलनका क्रममा कारागारबाट बाहिर निस्केपछि उनीमाथि चौतर्फी आलोचना भएको थियो।

गत सोमबार र मंगलबारको जेन-जी प्रदर्शनका क्रममा देशभरका २६ वटा कारागारबाट १२ हजार ८१७ जना कैदी भागेका थिए। यही मौकामा रवि लामिछाने पनि बाहिर निस्किएका थिए । उनले कारागार प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै आफूलाई पत्र दिएको दाबी गरेका थिए । तर, उनले सार्वजनिक गरेको पत्रमा मिति सच्याएको, प्रतिवादीको नाम ‘सुरेन्द्र राई’ लेखिएको, र ‘माननीय’ भनी सम्बोधन गरिएको पाइएपछि उनको चर्को आलोचना भएको थियो। कारागार प्रशासनले समेत त्यस्तो कुनै पत्र नदिएको बताएको थियो ।

पुनः कारागार जानुअघि लामिछानेले एक भिडिओ सन्देश जारी गर्दै आफूमाथि अब अन्याय नहुने विश्वास व्यक्त गरेका थिए। “पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साधेको थियो,” उनले भनेका छन्, “आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु।”

यता, आन्दोलनको फाइदा उठाउँदै भागेका कैदीमध्ये हालसम्म २ हजार ५ सय जना पुनः कारागार फर्किसकेका छन्। कारागार व्यवस्था विभागका अनुसार, केही आफैँ फर्किएका छन् भने केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

लामिछानेको यो कदमलाई केहीले राजनीतिक दबाब र फाइदाको रूपमा हेरेका छन् भने केहीले यसलाई न्यायको नयाँ आशाको रूपमा लिएका छन्। तथापि, कारागारबाट कैदी भागेको र त्यहीबीचमा एक राजनीतिक नेताको रिहाइले कानुनी राज्य र व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १० : २० बजे