निरन्तरको भारी वर्षाले देशभर जनजीवन प्रभावित बनेको छ। शुक्रबार रातिदेखि सुरु भएको वर्षा शनिबार बिहानदेखि देशैभर फैलिँदा जनजीवन अस्तव्यस्त बनेको छ। दशैं मनाएर घर फर्कने यात्रुहरू मध्ये धेरैजना बाटोमै अलपत्र परेका छन्।
देशका प्रमुख राजमार्गहरू जस्तै कोशी, पृथ्वी, बीपी, अरनिको, सिद्धिचरण, कुलेखानी र पासाङ ल्हामु सडकखण्डलगायतका बाटोहरू अवरुद्ध भएका छन्। राजमार्गहरूमा थुनिएका यात्रुहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याउने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ।
सरकारले परिस्थिति सहज बनाउन आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस निर्णयले दशैं मनाउन गाउँ गएका र फर्कने क्रममा अलपत्र परेका नागरिकलाई केही राहत मिलेको बताइन्छ।
राजमार्गहरूमा ठूला क्षति
भारी वर्षाका कारण बीपी राजमार्गको रोशी खोलामा गत वर्षको बाढीपछि बनाइएका डाइभर्सनहरू बगाएको छ। रोशी र नमोबुद्धको सीमाना चौकीडाँडा, घुमाउने, चारसयबेशी, स्याउले बजार, नार्के, बोक्सीकुना, डालाबेशी, पिप्ले र माम्ती क्षेत्रमा सडक कटान भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा तुइन खोलामा निरन्तर ढुंगा खस्ने क्रम जारी छ। केही घण्टा एकतर्फी सडक सञ्चालनमा आए पनि अहिले चितवन हुँदै सबै सवारी साधन चलाउन रोक लगाइएको छ।
बीच बाटोमै अलपत्र यात्रुहरूका लागि विभिन्न होटलहरूमा खाना र बासको व्यवस्था गरिएको छ। धुलिखेल, चितवन र कोशी राजमार्गका होटल व्यवसायीहरूले निःशुल्क वा सहुलियत दरमा सेवा उपलब्ध गराउन थालेका छन्।
सरकार र सुरक्षा निकाय सक्रिय
गृह मन्त्रालयका अनुसार, बिहानैदेखि जल तथा मौसम विज्ञान विभाग, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, ऊर्जा र भौतिक पूर्वाधार मन्त्रालयलगायतका संयन्त्र परिचालनमा छन्। हालसम्म ठूलो मानवीय क्षति भएको छैन।
मौसमविद्हरूका अनुसार, आइतबार बिहानसम्म पनि भीषण वर्षा जारी रहनेछ। काठमाडौं उपत्यका र मधेशका पश्चिमी भागहरू अझै जोखिमपूर्ण अवस्थामा छन्।
विभागका महानिर्देशक कमलराम जोशीले भने, “तराईको वीरगञ्ज र आसपासका क्षेत्रमा जारी रेड अलर्ट अझै कायमै छ। आज रातभर अति भारी वर्षाको सम्भावना छ, सोमबारसम्म सतर्कता अपनाउन जरुरी छ।”
पाँचथरमा सवारी दुर्घटनामा ६ को मृत्यु
पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी तमोर करिडोरमा दुर्घटनाग्रस्त भएको हो। घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
रसुवामा ४ जना बेपत्ता
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनामध्ये ४ जनालाई बगाएको छ। बेपत्ता हुनेहरूमा संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन्। प्रहरीले खोजी कार्य जारी राखेको छ।
रौतहटमा चट्याङ र डुबान
रौतहटको कटहरिया नगरपालिका–२ मा शनिबार साँझ चट्याङ लागेर १६ वर्षीय दुई किशोर — सेहराज लहरी र नविन यादव — को मृत्यु भएको छ। निरन्तर वर्षाका कारण रौतहटका बस्ती र सरकारी कार्यालयहरू समेत डुबानमा परेका छन्।
पछिल्लो १२ घण्टामा रौतहटको महेशपुरमा ३२६ मिलिमिटर, गौरमा ३०४.४ मिलिमिटर र गरुडामा २७० मिलिमिटर पानी परेको छ।
हवाई उडान ठप्प
अविरल वर्षाका कारण मौसम सुधार नभएपछि आन्तरिक हवाई उडान पूर्ण रूपमा स्थगित भएका छन्। केही अन्तर्राष्ट्रिय उडानहरू पनि अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको छ। विमानस्थल प्राधिकरणले नयाँ सूचना जारी नभएसम्म यात्रुहरूलाई यात्रा नगर्न अनुरोध गरेको छ।
जोखिम अब पूर्वी नेपालतिर सर्ने सम्भावना
मौसमविद्हरूका अनुसार, विकसित वर्षा प्रणाली आइतबार दिउँसोबाट पूर्वी नेपालतिर सर्नेछ। इलाम र झापासम्म वर्षा हुने सम्भावना छ भने महाभारत र चुरे क्षेत्रका साना खोल्सामा बाढी र पहिरोको जोखिम उच्च छ।
“जोखिमपूर्ण क्षेत्रमा रहेका बासिन्दालाई मोबाइल सन्देश र माइकिङमार्फत सतर्क गराउँदैछौं,” महानिर्देशक जोशीले बताए।









