३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त पक्राउ



नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले रौतहटका ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेललाई पक्राउ गरेको हो।

सिआइबीका प्रमुख एआइजी मनोज केसीका अनुसार खरेल सो प्रकरणका प्रमुख पात्रमध्ये एक हुन्। ‘कोर टिममै बसेर ठगी गर्ने व्यक्ति हुन्। सुरूमा उनको नाममात्रै खुलेको थियो तर पहिचान स्पष्ट नभएकाले पक्राउ गर्न सकिएको थिएन। अहिले पहिचान खुलेपछि पक्राउ गरेका छौं,’ एआइजी केसीले जानकारी दिए।

सिआइबीका अनुसार खरेलले भुटानी शरणार्थी बनेर विदेश जान खोज्ने पीडितहरूबाट नगद र चेकमार्फत रकम संकलन गर्थे। उनले ती रकम बैंकमार्फत जम्मा गरी ओसारपसार गर्ने र नक्कली कागजात तयार पार्ने काममा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका खरेलमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको आरोपमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, आइतबार  १० : २७ बजे