राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को डेरामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको बालेनको कोठाबाट विभिन्न विद्युतीय सामग्री र बहुमूल्य वस्तुहरू चोरी भएको घटनामा संलग्नहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकका ४६ वर्षीय खिमबहादुर खड्का र डोटीका ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् । परिसरका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार राजवाहकलाई माघ २३ गते बाँसबारीबाट र अन्य दुई जनालाई जडिबुटी तथा बालाजुबाट पक्राउ गरिएको हो ।
प्रहरी अनुसन्धानका क्रममा चोरीका मुख्य योजनाकार विष्णुबहादुर राजवाहक यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको खुलेको छ । उनी चोरीकै कसुरमा कैद भुक्तान गरिरहेको अवस्थामा गत २४ भदौमा ‘जेनजी आन्दोलन’ को मौका छोपी नख्खु कारागारबाट फरार भएका थिए । कारागारबाट भागेपछि मात्रै उनी कम्तीमा पाँचवटा चोरीका घटनामा संलग्न देखिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध वि.सं. २०७२ सालदेखि नै विभिन्न वृत्तमा चोरी तथा अन्य साधारण अपराधका मुद्दाहरू दर्ता भएको पाइएको छ ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले म्याकबुक प्रो, डेलको ल्यापटप, राउटर, दुई थान सीसीक्यामेरा र डीभीआर जस्ता विद्युतीय सामग्रीहरू बरामद गरेको छ । यसका साथै उनीहरूको डेराबाट चाँदीका थाली, कचौरा, प्लेट, गिलास, दियो र सुनजस्तो देखिने लक्ष्मीको मूर्ति, झुम्का, सिक्री तथा बाला लगायतका बहुमूल्य वस्तुहरू पनि फेला परेका छन् । चोरीमा प्रयोग हुने पिलास, सलाई रेन्ची, रेती र स्क्रुजस्ता औजारहरू समेत बरामद गरिएको छ ।
पक्राउ परेका अन्य दुई अभियुक्तको पनि पुरानो आपराधिक पृष्ठभूमि रहेको देखिएको छ । खिमबहादुर खड्का बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति हुन् भने सञ्जय श्रेष्ठ २०६४ सालमा जबरजस्ती करणीको कसुरमा मुद्दा खेपेका व्यक्ति हुन् । राजवाहक र श्रेष्ठबीच रामेछाप कारागारमा कैद हुँदा चिनजान भएको र राजवाहक र खड्काबीच विगत ८ वर्षदेखि बालुवा डिपोमा सँगै काम गरेको साइनो रहेको खुलेको छ । हाल पक्राउ परेका तीनै जनामाथि जिल्ला प्रहरी परिसर काठमाडौंले थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको छ ।









