२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

नेकपाको प्रतिबद्धता: १० प्रतिशतको आर्थिक वृद्धि र ५ लाख रोजगारीको लक्ष्य



बाइस वटा विभिन्न कम्युनिष्ट तथा समाजवादी घटकहरूको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टीले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत चुनावी मार्गचित्र सार्वजनिक गरेको छ ।

‘तारा’ चुनाव चिन्ह लिएर निर्वाचनमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको संकल्प गरेको हो।

पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएको ठहर गर्दै यसमा आमूल सुधार गर्ने प्रस्ताव गरिएको छ। विशेषगरी ‘जेन-जी’ पुस्ताको भावना र मुलुकको आवश्यकतालाई सम्बोधन गर्न शासकीय स्वरूप परिमार्जन गर्ने, मन्त्रिपरिषद्को आकार सानो बनाउने र सांसदहरूलाई विकास निर्माणभन्दा केवल विधायकी भूमिकामा सीमित राख्ने योजना अघि सारिएको छ। सङ्घीयतालाई बलियो बनाउन बजेटको ६० प्रतिशत हिस्सा प्रदेश र स्थानीय तहमा पठाउने र एक वर्षभित्र आवश्यक कानुन निर्माण गर्ने वाचा समेत गरिएको छ।

भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्दै पार्टीले वि.सं. २०४६ सालयता सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न एक वर्षभित्र ‘उच्च स्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने घोषणा गरेको छ। भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार र सतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ गठन गर्ने र डिजिटल प्रशासनमार्फत सरकारी सेवालाई ‘फेसलेस र पेपरलेस’ बनाउने दाबी प्रतिबद्धता पत्रमा छ।

आर्थिक क्षेत्रमा पार्टीले आगामी ५ वर्षभित्र दोहोरो अङ्कको (१० प्रतिशत माथि) आर्थिक वृद्धिदर हासिल गर्ने र बहुआयामिक गरिबीलाई २०.१५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने, १ लाख विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउने र उत्पादनमूलक क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने नीति लिइएको छ। कृषि क्षेत्रलाई उकास्न आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गर्दै किसान पेन्सन, समर्थन मूल्यको अग्रिम घोषणा र दुई वर्षभित्र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरी नेपाललाई सुकुम्वासीमुक्त बनाउने योजना अघि सारिएको छ।

सामाजिक क्षेत्रतर्फ, स्वास्थ्य सेवालाई पूर्ण रूपमा नि:शुल्क र मौलिक हकका रूपमा कार्यान्वयन गर्ने, वि.सं. २०८८ सम्म शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने र नसर्ने रोगको उपचार समुदायस्तरमै पुर्‍याउने प्रतिबद्धता गरिएको छ। शिक्षामा राजनीतिक भागबण्डा अन्त्य गरी योग्यताका आधारमा नियुक्ति गर्ने र ‘एक पालिका, एक स्मार्ट विद्यालय’ निर्माण गर्ने लक्ष्य छ। पूर्वाधार विकासका लागि आगामी ५ वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने, काठमाडौंमा मेट्रो रेल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न गर्ने जस्ता ठूला आयोजनालाई प्राथमिकता दिइएको छ।

परराष्ट्र नीतिका हकमा पार्टीले असंलग्नतालाई सुदृढ गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने र राष्ट्रिय हितलाई सर्वोपरी राख्ने अडान व्यक्त गरेको छ। समावेशिता र सामाजिक न्यायका लागि संविधान संशोधन गर्ने र जातीय छुवाछुत विरुद्ध राष्ट्रिय अभियान चलाउने संकल्प गर्दै नेपाली कम्युनिष्ट पार्टीले समृद्धिको नयाँ मार्गचित्र प्रश्तुत गरेको छ।

प्रकाशित मिति : २८ माघ २०८२, मंगलबार  १० : ०८ बजे