१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

प्रतिनिधिसभा निर्वाचन २०८२: विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे कार्यकालको ‘रिपोर्ट कार्ड’



आगामी २१ फागुनमा तय भएको आमनिर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् ।

२०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि आफूले अघि सारेको ३१ बुँदे घोषणापत्रमा भएका प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्थालाई चौधरीले जनतामाझ प्रस्तुत गरेका हुन् ।

‘जेनजी’ आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई हुन लागेको यस निर्वाचनको सन्दर्भमा उनले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार मान्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताएका छन् । ३१ बुँदे प्रतिबद्धताको एक–एक बुँदाको उत्तर बोकेर आएको भन्दै उनले जनताले सोध्ने प्रश्नको सामना गर्न सक्ने गरी आफूले काम गरेको दाबी गरेका छन् ।

चौधरीको सचिवालयका अनुसार रिपोर्ट कार्डको डिजिटल प्रति सार्वजनिक गरिएको छ भने मुद्रित प्रतिहरू कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका र निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध गराइएको छ ।

नवलपरासी क्षेत्र नम्बर १ लाई लुम्बिनी प्रदेशकै नमुना क्षेत्र बनाउने गुरुयोजना अन्तर्गत १५ गौरवका आयोजना छनोट गरिएकोमा हाल १२ वटा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा राजमार्गहरूको स्तरोन्नति अन्तिम चरणमा पुगेको, सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धि अन्तर्गत ६ वटा विद्यालयमा डिजिटल क्लास र ई–पुस्तकालय सञ्चालनको तयारी भएको तथा चिसापानीस्थित ट्रमा सेन्टरको निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने चरणमा पुगेको जानकारी दिइएको छ ।

आर्थिक र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका चौधरीले हुलाकी राजमार्ग र प्रतापपुर चक्रपथको कामलाई तीव्रता दिइएको तथा बर्दघाट–५ मा साना तथा मझौला औद्योगिक ग्राम निर्माण भइरहेको बताएका छन् ।

कृषि क्षेत्रको उत्थानका लागि नवलपरासीलाई ‘विशेष केरा जोन’ का रूपमा विकास गर्ने र सुस्तामा केरामा आधारित उद्योग स्थापनाका लागि जग्गा खरिद प्रक्रिया अघि बढाइएको रिपोर्ट कार्डमा समेटिएको छ । त्यसैगरी, उखु किसानका समस्या समाधान र गण्डक नहरको मर्मत सम्भारलाई प्राथमिकता दिएको दाबी गर्दै उनले युवा उद्यमशीलताका लागि ‘नबिल एसएसई’ र सिजी पोलिटेक्निक मार्फत व्यावसायिक तालिम प्रदान गरिएको उल्लेख गरेका छन् । सुस्ता क्षेत्रका भूमिहीन समस्या समाधानका क्रममा हालसम्म २ सय ५० जनालाई लालपुर्जा वितरण गरिएको र बाँकीको पनि व्यवस्थापन गरिने प्रतिबद्धता उनले दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : २९ माघ २०८२, बुधबार  १० : २६ बजे