१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

निर्वाचनका लागि कांग्रेसको ३४ बुँदे निर्देशिका: ‘जे पनि आश्वासन नदिन’ उम्मेदवारलाई सचेत



नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी पार्टीका सबै तह र उम्मेदवारहरूका लागि ३४ बुँदे विशेष निर्देशिका जारी गरेको छ ।
उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिले तयार पारेको ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका–२०८२’ मार्फत पार्टीले उम्मेदवारहरूलाई ‘चुनाव जित्ने नाममा जे पनि आश्वासन’ नदिन कडा निर्देशन दिएको हो।

निर्देशिकामा कांग्रेसले स्थानीय मुद्दाहरू पहिचान गर्दा नागरिक लाभान्वित हुने वास्तविक योजना मात्र अघि सार्न भनेको छ। भौतिक निर्माणका योजनाहरूमा ‘लहडका भरमा’ नबोल्न सचेत गराउँदै पार्टीले कुनै पनि परियोजना पूरा गर्न सकिने (फिजिबल) र लाभ हासिल गर्न सकिने (भायबल) छ कि छैन भन्ने कोणबाट मात्र टुंगोमा पुग्न निर्देशित गरेको छ। राष्ट्रिय योजनाबारे केन्द्रले धारणा बनाउने र स्थानीय आवश्यकताका आधारमा मात्र क्षेत्रगत योजना अघि सार्ने कांग्रेसको रणनीति छ।

आर्थिक व्यवस्थापनका सवालमा कांग्रेसले यस पटक कडा अनुशासनको नीति लिएको छ। चुनावी खर्चका लागि कुनै पनि व्यवसायीलाई दबाब नदिन र स्वतःस्फूर्त प्राप्त हुने सहयोग मात्र स्वीकार गर्न भनिएको छ। ‘साझा दायित्व–साझा स्वामित्व’को भावना अनुसार पार्टी सदस्यहरूकै सहभागितामा कोष खडा गरी फजुल खर्च नगरी निर्वाचन अभियान चलाउन र चुनाव सकिएको १५ दिनभित्र अनिवार्य रूपमा खर्च विवरण निर्वाचन आयोगमा बुझाउन पार्टीले निर्देशन दिएको छ।

राजनीतिक संस्कारका विषयमा निर्देशिकाले प्रतिस्पर्धी दल र उम्मेदवारलाई ‘दुश्मन’ नभई विचारको प्रतिस्पर्धी मान्न र गालीगलौजको राजनीति नगर्न जोड दिएको छ। ‘जो बदलिन सक्छ, उसैले बदल्न सक्छ’ भन्ने नाराका साथ विगतका कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै कांग्रेसले महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावी माहौल बनाउन खोजेको छ। निर्देशिकामा ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने मूल मर्मलाई मतदातामाझ लैजान भनिएको छ।

सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन, डिजिटल माध्यमबाट युवाका सपनालाई सम्बोधन गर्न र ‘हाम्रो वडा हामी जिताउँछौ’ भन्ने अभियान अन्तर्गत ५-५० को रणनीति (५ जना क्रियाशील सदस्यले ५० घरपरिवारको जिम्मा लिने) लागू गर्न पनि कांग्रेसले कार्यसमितिहरूलाई निर्देशन दिएको छ। १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले फागुन २ गते आफ्नो चुनावी घोषणापत्र (प्रतिज्ञा पत्र) सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : ३० माघ २०८२, बिहिबार  १० : ३२ बजे