१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

भरतताल बनाएर चर्चामा आएका मेयर भरत थापालाई अर्को भ्रष्टाचार मुद्दा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापासहित १३ जना विरुद्ध भ्रष्टाचारको नयाँ मुद्दा दायर गरेको छ । सागरनाथ वन परियोजनाको वन पैदावर गैरकानुनी रुपमा निकासी गरेको र वातावरणीय अध्ययन नै नगरी वन क्षेत्र मासेर कृत्रिम ताल (भरतताल) निर्माण गरेको अभियोगमा बुधबार विशेष अदालतमा यो मुद्दा दर्ता गरिएको हो । अख्तियारले यस मुद्दामा आरोपितहरूमाथि एकमुष्ट ५८ करोड ६२ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

मेयर थापाका लागि भरतताल निर्माणसँग जोडिएको यो तेस्रो भ्रष्टाचार मुद्दा हो भने समग्रमा उनीमाथि चारवटा मुद्दा चलिरहेका छन् । अख्तियारले मेयर थापासहित बागमती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल र इन्जिनियर सागर पौडेललाई पनि प्रतिवादी बनाएको छ । यस्तै, सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुख विशाल घिमिरे, निमित्त प्रमुखहरू देवेशमणि त्रिपाठी, रामकिशोर यादव, प्रेमीलाल प्रसाद तथा अन्य वन अधिकृतहरूमाथि पनि मिलेमतोको आरोप लागेको छ ।

तराईमा व्यवस्थित वन विकास र काठ उत्पादनका लागि २०३५ सालमा स्थापित सागरनाथ वन परियोजनाको जग्गामा नगरपालिकाले बलपूर्वक माछा पोखरी निर्माण गरेको अख्तियारको ठहर छ । परियोजनाका कर्मचारीहरूले पटक-पटक लिखित रूपमा निर्माण कार्य रोक्न आग्रह गर्दागर्दै पनि २ चैत २०७५ मा करिब १५० बिघा जग्गामा बहुउद्देश्यीय पोखरी बनाउने निर्णय गरिएको थियो । नगरपालिकाले उक्त क्षेत्र आफ्नो क्षेत्राधिकार भित्र पर्ने दाबी गरे पनि अख्तियारले यसलाई विशेष संरक्षित वनक्षेत्रमा भएको गैरकानुनी हस्तक्षेप र राजस्व चुहावट भनेको छ ।

विशेष अदालतमा दायर आरोपपत्र अनुसार पोखरी निर्माणका क्रममा ७ करोड ३९ लाख क्युफिट नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) गैरकानुनी रूपमा उत्खनन गरी रोयल्टी नतिरी निकासी गरिएको छ । यसअघि पनि मेयर थापा गैरकानुनी सम्पत्ति आर्जन र भरतताल निर्माणकै अन्य विवादमा दोषी ठहर भइसकेका छन् । गत साउन २२ गते विशेष अदालतले उनलाई ३० करोड २९ लाख रुपैयाँ नोक्सानी गरेको ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको थियो । यसबाहेक वन मन्त्रालयले पनि उनी विरुद्ध जिल्ला अदालत सर्लाहीमा एक अर्ब ४९ करोड बिगो माग गर्दै वन मुद्दा चलाइरहेको छ ।

प्रकाशित मिति : ३० माघ २०८२, बिहिबार  १० : ३९ बजे