जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो २५ पृष्ठ लामो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडौँको अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले ‘सुशासन र सामाजिक न्याय’ लाई मुख्य एजेन्डा बनाउँदै विभिन्न महत्त्वाकांक्षी योजनाहरू अघि सारेको हो ।
जसपाले भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली ‘जनलोकपाल’ गठन गर्ने संकल्प गर्दै वि.सं. २०४७ सालयताका प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका पदाधिकारी र संवैधानिक निकायका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने विषयलाई प्रमुखताका साथ उठाएको छ ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा आमूल परिवर्तनको खाका प्रस्तुत गर्दै जसपाले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने र हरेक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
साथै, प्रत्येक प्रदेशमा कम्तिमा एउटा अत्याधुनिक बहुविशिष्टिकृत अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने लक्ष्य राखिएको छ। शिक्षाको पूर्ण सार्वजनिकीकरण गर्दै शिशु कक्षादेखि उच्च तहसम्मको शिक्षा निःशुल्क बनाउने र हरेक प्रदेशमा कृत्रिम बौद्धिकतामा आधारित आधुनिक अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ ।
वैदेशिक रोजगारीका क्षेत्रमा श्रमिकहरूका लागि ‘फ्रि भिसा र फ्रि टिकट’ को नीति कडाइका साथ लागू गर्ने र विदेशबाट फर्केका युवाहरूलाई उनीहरूको सीपका आधारमा स्वदेशमै रोजगारी सुनिश्चित गर्ने नीति पार्टीले लिएको छ ।
प्रशासनिक र कानुनी सुधारतर्फ सत्तामा पुगेको ६ महिनाभित्रै संघीय निजामती ऐन पारित गराउने, संविधान संशोधनका लागि आयोग गठन गर्ने तथा प्रहरी ऐन संशोधन गरी प्रहरीलाई व्यावसायिक र जनमैत्री बनाउने योजना अघि सारिएको छ । यसबाहेक, सबै नागरिकका लागि निःशुल्क कानुनी सहायताको व्यवस्था मिलाउने प्रतिबद्धता समेत जसपाले व्यक्त गरेको छ ।









