१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

बंगलादेश चुनाव: आन्दोलनमा सफल, चुनावमा असफल



सन् २०२४ को ऐतिहासिक विद्यार्थी विद्रोहको रापतापबाट उदाएको बंगलादेशको नयाँ राजनीतिक शक्ति ‘नेशनल सिटिजन पार्टी’ (एनसीपी) लाई आफ्नो पहिलो चुनावी गाँसमै ढुङ्गा लागेको छ ।

शेख हसिनाको १५ वर्षे शासन ढाल्न सफल युवाहरूको यो पार्टी बिहीबार सम्पन्न आम निर्वाचनमा लज्जास्पद हार बेहोर्न पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराका अनुसार ३ सय मध्ये जम्मा ३० निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको एनसीपीले ६ सिटमा मात्र जित हासिल गर्न सक्यो ।

विद्रोहका चर्चित अनुहार नाहिद इस्लामले चुनाव जितेर बंगलादेशी संसदको सबैभन्दा कान्छा सांसद बन्ने सौभाग्य पाए पनि पार्टीका अन्य अधिकांश उम्मेदवारको जमानत जफत भएको छ ।

जुलाई २०२४ मा सरकारी जागिरको आरक्षणविरुद्ध सुरु भएको आन्दोलनले हसिना सरकार विस्थापित गरेपछि विद्यार्थी नेताहरूले ‘सिस्टम’ बदल्ने उद्घोषसहित एनसीपी गठन गरेका थिए । १४ सयभन्दा बढी सहिदको बलिदान र हजारौँ घाइते युवाहरूको भावना बोकेको यो दलले डिजिटल प्लेटफर्ममा ठूलो समर्थन पाए पनि त्यसलाई भोटमा बदल्न पूर्णतः असफल देखियो ।

राजनीतिक विश्लेषकहरूका अनुसार दशकौँसम्म ग्रासरुटमा काम गरेका अनुभवी नेता र संगठनात्मक संयन्त्रको अभाव नै हारको मुख्य कारण हो। चुनावी राजनीतिमा चाहिने साम, दाम, दण्ड र भेदको अगाडि विद्यार्थीहरूको भावनात्मक एजेन्डा फिक्का सावित भयो भने कट्टरपन्थी जमात-ए-इस्लामीसँगको तालमेलले मध्यममार्गी युवा मतदाताहरू झन् भड्किएको देखिन्छ ।

अर्कोतर्फ, पुरानो शक्ति बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) दुई दशकपछि सत्तामा शक्तिशाली पुनरागमन गर्न सफल भएको छ । ३ सय सिटको संसदमा २०८ सिट जित्दै दुई-तिहाइ नजिकको बहुमत हासिल गरेको बीएनपीका नेता तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ। निर्वाचन परिणाममा जमात-ए-इस्लामीले ६८ सिट र अन्य उम्मेदवारले ९ सिट जितेका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै एनसीपीले मतगणनामा धाँधली भएको आरोप लगाउँदै केही क्षेत्रमा पुनः मतगणनाको माग गरेको छ । सडकको आन्दोलनमा सफल भए पनि विद्रोही युवाहरूका लागि संसदीय राजनीतिमा स्थापित हुन निकै कठिन रहेको यस नतिजाले पुष्टि गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १० : ५८ बजे