१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

निर्वाचनको सुरक्षा तयारीमा रहेको प्रहरीलाई सामाग्री अभाव



आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीले तीव्र तयारी थालेको भए पनि सवारीसाधन र हतियारको ठूलो अभाव देखिएको छ ।

निर्वाचन लक्षित सुरक्षा र गस्तीका लागि थप ३ हजार २ सय ७८ वटा सवारीसाधन आवश्यक पर्नेमा प्रहरीले हालसम्म गृह मन्त्रालयमार्फत भारत सरकारले उपलब्ध गराएका १९५ वटा र नियमित बजेटबाट खरिद गरिएका १८५ वटा गाडी मात्र प्राप्त गरेको छ ।

विशेषगरी मतदान स्थलको मोबाइल गस्तीका लागि मात्रै १ हजार ४ सय ८२ वटा साना सवारीसाधन आवश्यक पर्ने प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिएका छन् । प्रहरीसँग भएका सवारीसाधन अपुग हुनुमा विगतको ‘जेनजी’ आन्दोलनका क्रममा १५१ साना गाडी, ३२ ठूला गाडी र सयौँ मोटरसाइकल जलाइएका कारण ठूलो क्षति पुग्नुलाई मुख्य कारण मानिएको छ ।

यो अभाव टार्न प्रहरीले ठूलो संख्यामा गाडीहरू भाडामा लिएर सुरक्षा व्यवस्थापन मिलाउने योजना बनाएको छ। जसअन्तर्गत काठमाडौँबाट टोली पठाउन ४०० बस, प्रदेशस्तरको जनशक्ति ओसार्न ४६६ बस तथा जिल्ला सदरमुकामबाट परिचालन हुन १९० बस र ७४० वटा जिप भाडामा लिइने भएको छ ।

सवारीसाधन मात्र नभई हतियारको समेत अभाव भएपछि देशभरका २३ हजार ११२ मतदान केन्द्रमा खटिने कमान्डरहरूका लागि नेपाली सेनासँग ३ हजार थान पेस्तोल सापटी लिने निर्णय गरिएको छ। यी हतियार निर्वाचन सम्पन्न भएपछि पुनः सेनालाई नै फिर्ता गरिनेछ।

निर्वाचन सुरक्षाका लागि देशभर करिब ७२ हजार नेपाल प्रहरी र १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन गरिँदैछ। सुरक्षा योजना अनुसार पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने व्यवस्था मिलाइएको छ ।

यसैबीच, विमानस्थल र कारागार जस्ता संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा अस्थायी रूपमा सेनालाई हस्तान्तरण गरी त्यहाँका जनशक्तिलाई समेत मतदान स्थलको सुरक्षामा खटाइएको छ। मत परिणाम सार्वजनिक भई अवस्था सामान्य बनेपछि सबै सुरक्षाकर्मीहरू आ-आफ्नो नियमित जिम्मेवारीमा फर्कनेछन्।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ११ : ०६ बजे