१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

सहकारी ठगीमा रविविरुद्ध उजुरी गर्ने जैशी आफै अर्को ठगी प्रकरणमा पक्राउ



पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध जाहेरी दिएका व्यक्तिनै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । सूर्यदर्शन प्रकरणमा कृष्णप्रसाद जैसीले जीबी राई र रवि लामिछानेलगायतविरुद्ध जाहेरी दिएका थिए । अहिले उनी आफै पोखराको धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख योजनाकारका रूपमा पक्राउ परेका हुन् ।

सूर्यदर्शन सहकारीका पीडितहरूको संघर्ष समितिका तर्फबाट आन्दोलनदेखि अदालतसम्म सक्रिय भूमिका खेलेका जैसीलाई गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको जाहेरीका आधारमा आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

रजिस्ट्रार कार्यालयका अनुसार धनुष सहकारीमा १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनपछि थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरिएको थियो । प्रारम्भिक छानबिनमै १९ करोड १८ लाख रुपैयाँ हिनामिनाको विवरण आएको भए पनि अहिलेसम्म ६ करोड रुपैयाँ मात्र असुल भएको र बाँकी रकम शोधभर्ना नभएकाले प्रहरी अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

प्रहरीले जैसीलाई नियन्त्रणमा लिएको छ भने अन्य चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएको छ ।

अनुसन्धान प्रतिवेदनअनुसार सहकारीको रकम हिनामिनामा साविक साइनो सहकारीका अध्यक्ष गमरेजसिंह गुरुङ, सञ्चालक काशीमाया गुरुङ, उनीहरूकी छोरी सिर्जना गुरुङ तथा एभिएस इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक असिम बरालको संलग्नतामा करिब ३ करोड रुपैयाँ हिनामिना भएको उल्लेख छ ।

यस्तै धनुष सहकारीतर्फ व्यवस्थापक विराज सुवेदीले २ करोड २५ लाख र जगत पौडेलले १ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा औंल्याइएको छ । सोही प्रतिवेदनले जैसीले पनि ऋण उपसमितिमा प्रवेश गरी कृत्रिम खाता सिर्जना गरेर ८२ लाख रुपैयाँ हिनामिना गरेको दाबी गरेको छ ।

प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले मुख्य योजनाकारका रूपमा यी व्यक्तिहरूलाई औंल्याउँदै अन्य पदाधिकारीमाथि पनि अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा जैसीकै जाहेरीका आधारमा रवि लामिछाने पहिलोपटक पक्राउ परेका थिए । उक्त प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध सुरुमा मुद्दा दायर भएको थियो भने पछि पूरक प्रतिवेदनका आधारमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको थियो ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधअन्तर्गत दायर मुद्दामा १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गरिएको थियो । सोही मुद्दामा लामिछाने ८४ दिन हिरासतमा बसेपछि ६५ लाख धरौटीमा छुटेका थिए ।

कृष्णप्रसाद जैसी सूर्यदर्शन सहकारीका पीडितहरूको आन्दोलनमा अग्रमोर्चामा रहेका व्यक्ति मानिन्छन् । उनी आन्दोलनकै क्रममा सहकारी पीडितको पीडा सार्वजनिक गर्दै चर्चामा आएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : ५० बजे