१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

कांग्रेसको दुई समुह समानन्तर गतिविधिमा



नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र राजनीतिक सरगर्मी बढ्दै गएका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले आगामी मंगलबार आफ्नो समूहको बैठक बोलाएको छ । तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका देउवा पक्षीय पदाधिकारी तथा सदस्यहरूलाई टेलिफोनमार्फत उपस्थित हुन जानकारी गराइएको उक्त बैठक तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आह्वान गरेका हुन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता रमेश लेखक र दीपक खड्काको पक्राउका साथै गत फागुन २१ को निर्वाचनमा बेहोर्नुपरेको हारबारे गम्भीर समीक्षा हुने नेता रामहरि खतिवडाले जानकारी दिए ।

ओली र लेखक पक्राउको विषयमा कांग्रेसको संस्थापन र देउवा पक्षबीच स्पष्ट मतभेद देखिएको छ, जहाँ संस्थापन पक्षले विधिको शासन र कारबाहीको समर्थन गरेको छ भने देउवा पक्षले यसलाई राजनीतिक प्रतिशोध भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

देउवा समूहका यस्ता समानान्तर गतिविधिहरू बढ्न थालेपछि संस्थापन पक्षले पनि बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय अनुशासन समितिको बैठक बोलाएर आक्रामक रणनीति तय गरेको छ ।

उक्त बैठकमा देउवा पक्षका गतिविधि र निर्वाचनमा भएको अन्तर्घातबारे छलफल गरी पार्टी हित विपरीत लाग्ने नेताहरूमाथि अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।

आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने पार्टीको निर्णय रहे पनि देउवा पक्षले भने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा दायर गरिएको रिटको फैसला नआएसम्म प्रक्रियामा सहभागी नहुने अडान राख्दै आएको छ, जसको पेशी चैत २२ गतेका लागि तोकिएको छ ।

यसैबीच, पूर्वसभापति देउवाले सिंगापुरबाटै आफ्नो समूहको नेतृत्व गरिरहेको चर्चा चलेको छ । निर्वाचन अघि नै सिंगापुर जानुभएका देउवा र उनकी पत्नी आरजु राणा देउवा हाल उतै रहेको र नेपालमा विकसित पछिल्लो गिरफ्तारीको घटनाक्रमका कारण उनी तत्काल स्वदेश फर्कने योजनाबाट पछि हटेको बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ११ : ०० बजे