नयाँ सरकारको कार्यभार सम्हाले लगत्तै भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण विरुद्धको अभियानले तीव्रता पाएको छ, जसको घेरामा मुलुकका तीन पूर्वप्रधानमन्त्रीहरू समेत परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अनुसन्धानलाई पुनः अगाडि बढाएका हुन् ।
विशेषगरी जेनजी आन्दोलनका क्रममा उनीहरूको निवासमा फेला परेका ठूलो मात्रामा नगद र गरगहनाका साथै सामाजिक सञ्जालमा सार्वजनिक भएका ‘पैसा जलेका’ भिडिओहरूलाई मुख्य प्रमाणका रूपमा लिएर छानबिन थालिएको हो ।
चुनावी सरकारका पालामा सुस्त रहेको यो प्रक्रिया बालेन्द्र शाह नेतृत्वको सरकारले २०६२ सालपछिका सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेसँगै थप सक्रिय भएको छ ।
यसै अनुसन्धानको सिलसिलामा आइतबार बिहान पूर्वमन्त्री दीपक खड्कालाई सीआईबीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँले उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले खड्काको पक्राउको पुष्टि गरे पनि पूर्वप्रधानमन्त्रीहरूको हकमा भने थप खुल्न चाहेनन् । यद्यपि, सीआईबीको आर्थिक अपराध अनुसन्धान महाशाखाले पूर्वप्रधानमन्त्रीहरू सहित अन्य धेरै उच्च पदस्थ व्यक्तिहरूमाथि गम्भीरताका साथ अनुसन्धान भइरहेको स्वीकार गरेको छ । विभागले जलेको पैसाको विषय मात्र नभई समग्र सम्पत्ति शुद्धीकरणका पाटाहरू केलाइरहेको जनाएको छ ।
हाल पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रहरी नियन्त्रणमै छन् । शनिबार पक्राउ परेका ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ र उनमाथि जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको विषयमा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
अर्का पूर्वप्रधानमन्त्री प्रचण्डले भने आफू अनुसन्धानका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् । हाल हङकङमा रहेका शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा स्वदेश नफर्किएमा प्रहरीले इन्टरपोलको सहयोग लिनेसम्मको तयारी गरेको बताइएको छ । यो अनुसन्धानले पूर्वप्रधानमन्त्रीहरू मात्र नभई उनीहरूका परिवारका सदस्यहरूलाई समेत कानुनी दायरामा ल्याउने देखिएको छ ।








