राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजे संघीय संसद् भवन, सिंहदरबारमा राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।
यसअघि सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले सोही मितिमा अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन्।
यो प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन हो। यस अधिवेशनमा प्रतिनिधिसभाले सभामुख र उपसभामुखको निर्वाचन गर्ने कार्यसूची रहेको छ। नेपालको संविधानअनुसार प्रतिनिधिसभाको पहिलो अधिवेशन बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढिरहेको सन्दर्भमा संसद्को अधिवेशन आह्वानलाई महत्त्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ। संसद् बैठक सुरु भएसँगै नयाँ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, कानुन निर्माण प्रक्रिया अघि बढाउने तथा संसदीय समितिहरू गठन गर्ने काम सुरु हुनेछ।
निर्वाचन सम्पन्न भए पनि संसद् बैठक नबस्दा विधायिका पूर्ण रूपमा सक्रिय हुन सकेको थिएन। अब अधिवेशन सुरु भएसँगै संघीय संसद्ले नियमित कार्य प्रारम्भ गर्नेछ भने सरकारको कामकारबाहीमाथि संसदीय निगरानी पनि प्रभावकारी हुने अपेक्षा गरिएको छ।








