१७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026

ओली पक्राउको विरोधमा एमालेको देशव्यापी आन्दोलन घोषणा



नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशव्यापी आन्दोलन घोषणा गरेको छ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चरणबद्ध रूपमा देशभर प्रदर्शन गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। उनका अनुसार वडा, पालिका, प्रदेश हुँदै राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम तय गरिएको छ।

एमालेले चैत २४ गते सबै जिल्ला कमिटीमार्फत वृहत कार्यकर्ता भेला आयोजना गर्ने र त्यसपछि वैशाख १२ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन तथा सभा गर्ने जनाएको छ।

पार्टीले पूर्वप्रधानमन्त्री ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई “प्रतिशोधपूर्ण र बदला–प्रेरित” भन्दै त्यसविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको हो। साथै, आन्दोलनमाथि सरकारले प्रहरीमार्फत दमन गरेको भन्दै एमालेले त्यसको कडा भर्त्सना गरेको छ।

एमालेका प्रमुख आन्दोलन कार्यक्रमहरू:
चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित वृहत भेला
चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन
वैशाख ३ गते वडा तहमा भेला
वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन
वैशाख १२ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन

यससँगै पार्टीका जनसंगठनहरूलाई पनि आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गरी पार्टीको आन्दोलनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ। जनसंगठन संयन्त्रको बैठक भोलि ११ बजे पार्टी कार्यालयमा बस्ने जनाइएको छ।

सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी, संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिइएको छ। संसदीय दलको बैठक भोलि ३ बजे बस्ने जनाइएको छ।

आन्दोलनका थप कार्यक्रम तय गर्न छिट्टै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत गरिएको एमालेले जनाएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ९ : ०९ बजे