१९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026

हवाई भाडा आकासियो: धनगढीभन्दा नयाँ दिल्ली सस्तो पर्ने अवस्था



हवाई इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धिसँगै आन्तरिक उडानको भाडादर झण्डै दोब्बरले महँगिएको छ। नयाँ दरअनुसार अब काठमाडौंबाट सुदूरपश्चिमको धनगढी पुग्नभन्दा भारतको राजधानी नयाँ दिल्ली जान सस्तो पर्ने अवस्था देखिएको छ।

आउँदो शनिबारका लागि काठमाडौँ–धनगढी एकतर्फी अधिकतम भाडा २१ हजार ६०८ रुपैयाँ पुगेको छ। तर सोही दिन काठमाडौंबाट नयाँ दिल्लीका लागि अन्तर्राष्ट्रिय उडानको टिकट करिब १७ हजार ९ सय ४९ रुपैयाँमा उपलब्ध रहेको देखिएको छ।

बुकिङ प्लेटफर्महरूमा समेत भाडामा भिन्नता देखिएको छ। नेपाल वायुसेवा निगम र अन्य एजेन्सीहरूमा दिल्लीको भाडा केही तलमाथि भए पनि समग्रमा आन्तरिक लामो दूरीको उडान र अन्तर्राष्ट्रिय उडानको भाडा लगभग बराबरीको अवस्थामा पुगेको छ।

भाडा वृद्धिको मुख्य कारण नेपाल आयल निगम ले हवाई इन्धनको मूल्यमा गरेको भारी वृद्धि हो। निगमले प्रतिलिटर १२७ रुपैयाँमा बिक्री हुँदै आएको इन्धनको मूल्य एकैपटक बढाएर २५१ रुपैयाँ पुर्‍याएको छ, जुन करिब ९८ प्रतिशत वृद्धि हो। यसपछि वायुसेवा कम्पनीहरूले ‘फ्युल सरचार्ज’ उल्लेख्य रूपमा बढाएका छन्।

नयाँ भाडासूची बुधबार बिहान १ बजेदेखि नै लागू गरिएको छ, जुन सामान्यतया दुई दिनपछि मात्र लागू गर्ने प्रचलन विपरीत हो।

सबैभन्दा बढी असर काठमाडौँ–धनगढी रुटमा परेको छ, जहाँ फ्युल सरचार्ज मात्र ५ हजार ४८० रुपैयाँले बढेको छ। त्यस्तै, पर्यटकीय रूपमा लोकप्रिय ‘माउन्टेन फ्लाइट’ को भाडा १३ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ।

आयल निगमका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। यसकै असरस्वरूप पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटा व्यहोर्नुपरेको निगमले जनाएको छ।

हवाई भाडा निर्धारण गर्दा आधारभूत भाडा, फ्युल सरचार्ज र विमानस्थल सेवा शुल्क समावेश गरिन्छ। तर, आधारभूत भाडा स्थिर रहे पनि इन्धन शुल्कको तीव्र वृद्धिले सर्वसाधारणका लागि हवाई यात्रा महँगो बन्दै गएको छ।

विशेषगरी दुर्गम तथा लामो दूरीका यात्रुहरू अब महँगो हवाई टिकट वा कठिन सडक यात्रामध्ये एक रोज्न बाध्य हुने अवस्था सिर्जना भएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १० : २० बजे