१९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026

एसईई परीक्षा भोलिदेखि सुरु हुँदै, ५,१२,४२१ विद्यार्थी सहभागी हुँदै



माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहीबारदेखि सुरु हुने परीक्षाका लागि देशभरका सबै तयारी सम्पन्न भएका छन्।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार ७७ वटै जिल्लाबाट तयारी पूरा भएको जानकारी प्राप्त भएको छ। “तयारी सकिएको छ, भोलि परीक्षा निर्धक्कसँग सञ्चालन हुन्छ,” उनले बताए। प्रदेश र जिल्ला तहसँग भर्चुअल बैठकमार्फत समन्वय गरिसकिएको पनि उनले जानकारी दिए।

शैक्षिक क्यालेन्डरअनुसार चैतको पहिलो सातामै परीक्षा सञ्चालन हुनुपर्ने भए पनि २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण परीक्षा १९ चैतमा सारिएको हो।

बोर्डका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगिसकेका छन् भने केन्द्राध्यक्षहरू नियुक्त भई आफ्नो कार्यस्थलमा खटिइसकेका छन्। परीक्षा सञ्चालनका लागि आवश्यक कर्मचारी तथा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ। यस वर्ष एसईई सञ्चालनका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन्, जसमध्ये एक केन्द्र जापानमा रहेको छ।

यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य रहेका छन्। जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ।

नतिजा सार्वजनिक गर्ने विषयमा बोर्डले नयाँ व्यवस्था लागू गरेको छ। सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। “परीक्षा सकिएको एक महिनाभित्र नतिजा ल्याउने तयारी छ,” उनले भने।

यस वर्षदेखि उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रमै गरिने व्यवस्था गरिएको छ। केन्द्राध्यक्षको निगरानीमा शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गर्नेछन्। यसले समय बचत हुनुका साथै त्रुटि पनि कम हुने विश्वास बोर्डको छ।

जहाँ आवश्यक शिक्षक अभाव वा सुरक्षा चुनौती देखिन्छ, त्यस्ता स्थानमा शिक्षा विकास तथा समन्वय एकाइमार्फत वैकल्पिक व्यवस्था गरिने बोर्डले जनाएको छ।

यसअघि भने गोप्य परीक्षण केन्द्रमा वा एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्ने प्रचलन थियो। नयाँ व्यवस्थाले प्रक्रिया छरितो हुने अपेक्षा गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई लामो समयसम्म नतिजा कुर्नु पर्ने अवस्थाबाट मुक्त गर्न छिटो नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए। “पहिलेभन्दा प्रविधि उन्नत भएको अवस्थामा विद्यार्थीले तीन महिना कुर्नु उपयुक्त होइन,” मन्त्री पोखरेलले बताए।

विद्यार्थीमाथिको अनावश्यक तनाव कम गर्न र एसईईपछि सञ्चालन हुने तयारी कक्षाहरू (ब्रिज कोर्स) मा नियन्त्रण गर्न सरकारले छिटो नतिजा प्रकाशनको नीति लिएको हो। साथै विद्यार्थीलाई आफ्नो रुचिअनुसार खेलकुद, संगीत वा अन्य सीप सिक्न प्रोत्साहन गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १० : २२ बजे