१९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026

संसदको पहिलो बैठक: रविको माफीदेखि एमसीसी खारेज गर्नुपर्ने हर्कको मागसम्म



फागुन २१ गतेको निर्वाचनबाट गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका थिए।

पहिलो बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका एक–एक जना सांसदले सम्बोधन गरेका थिए। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेकपाका सांसद वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई तथा राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफ्नो धारणा राखेका थिए। स्वतन्त्र सांसद महावीर पुनले पनि महत्वपूर्ण विषयहरू उठाएका थिए।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि प्रतिनिधिसभाको पहिलो बैठक नै अवरोधबाट सुरु भएको थियो। त्यसक्रममा ज्येष्ठ सदस्य केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिएका थिए। उनले सरकार संविधानको मौलिक हकविपरीत गएको आरोप लगाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेका थिए।

बैठकका क्रममा केही रोचक दृश्यहरू पनि देखिए। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समय अभाव भएको गुनासो गर्दै तोकिएको समय सकिएपछि पनि बोलिरहेपछि सभामुख केसीले पटक–पटक समय सकिएको जानकारी गराएका थिए। उनले पहिलो बैठकमै एमसीसी खारेजको प्रस्ताव राखे ।

त्यस्तै स्वतन्त्र सांसद महावीर पुनले आफू संसदमा आउनै नपर्ने व्यक्ति भएको भन्दै हल्का व्यंग्यात्मक शैलीमा मन्तव्य राख्दा सांसदहरूबीच हाँसो फैलिएको थियो। उनले आफू शिक्षामन्त्री हुँदा सुधारका लागि ल्याउन खोजिएका अध्यादेश पारित हुन नसकेको स्मरण गर्दै नयाँ सरकारले त्यसलाई अघि बढाउनुपर्ने धारणा राखेका थिए।

उता गृहमन्त्री सुधन गुरुङले पहिलो बैठकमै तीन वटा अध्यादेश पेस गरेका थिए। तर अध्यादेश प्रस्तुत गर्ने क्रममा केही समय अलमल देखिएका उनी रोस्टममा पुगेपछि पानी पिएर मात्र प्रस्तुतिमा जुटेका थिए।

यसैबीच एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधनका क्रममा कडा आरोप लगाएका थिए। उनले भदौ २३ र २४ गतेको घटनामा सत्तारूढ दलको संलग्नता रहेको आरोप लगाउँदै सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उक्त आरोपका क्रममा गृहमन्त्री गुरुङले असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएको दृश्य पनि देखिएको थियो।

बैठकका दौरान पुष्पकमल दाहाल र रामबहादुर थापा ‘बादल’बीच आपसी संवाद पनि देखिएको थियो। दुवै नेता विपक्षी सिटमा सँगै बसेका थिए।

बैठकपछि अर्को रोचक दृश्य देखिएको थियो, जहाँ प्रधानमन्त्री बालेन शाहले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बोलाएर अँगालो हालेका थिए। लामो समयदेखि सामाजिक सञ्जालमार्फत आलोचना गर्दै आएका साम्पाङलाई बालेनले आत्मीय रूपमा भेटेका थिए। त्यसक्रममा साम्पाङले उनलाई मोबाइलमा केही देखाएका थिए।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ८ : ४२ बजे