क्यालिफोर्निया । विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टिम कुकले झन्डै १५ वर्ष लामो कार्यकालपछि पद त्याग गर्ने घोषणा गरेका छन् । ६५ वर्षीय कुक आगामी सेप्टेम्बरदेखि सिइओको जिम्मेवारीबाट मुक्त भई कम्पनीको ‘कार्यकारी अध्यक्ष’को नयाँ भूमिकामा जाने भएका हुन् ।
कुकको उत्तराधिकारीका रूपमा एप्पलका वर्तमान हार्डवेयर इन्जिनियरिङ प्रमुख ५० वर्षीय जोन टर्नसलाई चयन गरिएको छ । टर्नस एप्पलको ५० वर्षको इतिहासमा आठौँ सिइओ बन्नेछन् ।
सन् २०११ मा कम्पनीका सह-संस्थापक स्टिभ जब्सको निधन हुनुभन्दा केही समयअघि कुकले नेतृत्व सम्हालेका थिए । उनको कार्यकालमा एप्पलले अभूतपूर्व आर्थिक सफलता हासिल गरेको छ । द न्यू योर्क टाइम्सका अनुसार कुकको राजीनामासँगै अमेरिकी व्यावसायिक इतिहासकै एक सफल व्यवस्थापकीय युगको अन्त्य हुनेछ ।
उनको नेतृत्वमा एप्पलको वार्षिक नाफा चार गुणाले बढेर १ खर्ब १० अर्ब डलर पुग्यो भने कम्पनीको बजार मूल्य १० गुणाभन्दा बढीले वृद्धि भई ४० खर्ब डलर को उचाइ छोयो । आइफोनलाई विश्वकै सबैभन्दा लोकप्रिय र प्रभावशाली ग्याजेटका रूपमा स्थापित गरियो ।
एप्पलमा सन् २००१ मा प्रवेश गरेका जोन टर्नसले म्याक र आइप्याड जस्ता महत्वपूर्ण उत्पादनहरूको विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएका छन् । सन् १९९७ मा टाट पल्टिन लागेको एप्पललाई बचाउन स्टिभ जब्स फर्किएयता टर्नस कम्पनीको तेस्रो प्रमुख कार्यकारी हुनेछन् ।
कम्पनीले ५० औँ वर्षगाँठ मनाउन लाग्दा युवा नेतृत्वका रूपमा टर्नसलाई अघि सारिएको हो । कुक कार्यकारी अध्यक्षका रूपमा रहिरहने भएकाले नेतृत्व हस्तान्तरणको प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ ।









