आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो पहिलो खेलमा नेपाल साविक विजेता इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको छ। मुम्बईस्थित वानखेडे रंगशालामा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहेको अवस्थामा साम कुरानको कसिलो बलिङका कारण नेपालले मात्र ५ रन जोड्न सक्यो र कुनै बाउन्ड्री प्रहार गर्न सकेन।
नेपालका लागि लोकेश बमले २० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यसैगरी, कप्तान रोहितकुमार पौडेलले ३९ रन र दीपेन्द्रसिंह ऐरीले ४४ रनको योगदान दिए। ऐरी र रोहितबीच तेस्रो विकेटका लागि ८२ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। यही खेलमार्फत दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर समेत बनेका छन्। ओपनिङमा कुशल भुर्तेलले २९ रन र आशिफ शेखले ७ रन जोडे। भुर्तेल र शेखबीचको ३७ रनको साझेदारी टी–२० विश्वकपमा नेपालको अहिलेसम्मकै ठूलो ओपनिङ साझेदारी हो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। इंग्ल्यान्डका लागि कप्तान ह्यारी ब्रुकले ५३ र जेकब बेथेलले ५१ रनको अर्धशतकीय इनिङ खेले। अन्तिम ओभरमा विल ज्याक्सले तीन छक्का प्रहार गर्दै १८ बलमा नटआउट ३९ रन जोडेपछि इंग्ल्यान्ड बलियो स्थितिमा पुगेको थियो। बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने सन्दीप लामिछाने र डेब्यू खेलाडी शेर मल्लले १–१ विकेट झारे। मल्लले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलको पहिलो बलमै फिल साल्टको विकेट लिएर ‘ड्रिम डेब्यू’ गरे।
यस खेलसँगै नेपाली क्रिकेटमा केही नयाँ कीर्तिमान समेत बनेका छन्। दीपेन्द्रसिंह ऐरी टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक ८ विकेट लिने बलर बनेका छन् भने रोहित पौडेल विश्वकपमा नेपालको तर्फबाट सर्वाधिक ५ खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन्। हारका बाबजुद विश्वविजेता टोलीविरुद्ध नेपालको प्रदर्शन उत्कृष्ट रह्यो। अब नेपालले आफ्नो दोस्रो खेल माघ २९ गते इटालीसँग खेल्नेछ भने फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डको सामना गर्नेछ।









