२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

अस्ट्रेलियामा कार घरभित्र पस्दा सुतिरहेकी नेपाली महिलाको मृत्यु



अस्ट्रेलियाको पर्थमा एक अनियन्त्रित कार घरभित्र छिरेर दुर्घटना हुँदा एक नेपाली महिलाको दुखद मृत्यु भएको छ । शुक्रबार मध्यराति भएको उक्त घटनामा ५३ वर्षीया विष्णुकुमारी गुरूङको ज्यान गएको हो ।

अस्ट्रेलियाली सञ्चारमाध्यम एबिसी न्युजका अनुसार, राति करिब ११:४० बजे रिभरभेल क्षेत्रको अलेक्जेन्डर रोडमा गुडिरहेको कार अनियन्त्रित भई सडक किनारको घरभित्र छिरेको थियो । मृतक गुरूङ सोही घरको अघिल्लो कोठामा सुतिरहेकी थिइन्। कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विष्णुकुमारी केही दिनअघि मात्रै नेपालबाट पर्थ पुगेकी थिइन् । सुत्केरी छोरी र नवजात नाति/नातिनीको हेरचाहका लागि उनी छोरी-ज्वाइँको घरमा बस्दै आएकी थिइन् ।

मृतककी छोरी निशा गुरुङले आइतबार सञ्चारमाध्यमसँग कुरा गर्दै यो घटना आफ्ना लागि एउटा भयानक सपनाजस्तो भएको बताइन् । “आमा सुतिरहनुभएको थियो । यो सबै कुरा पत्याउनै सकिरहेका छैनौँ,” उनले शोकपूर्ण भावमा भनिन् ।

घटना यति भीषण थियो कि छिमेकीहरूले ठूलो आवाज आएको बताएका छन् । एक छिमेकीका अनुसार, “घरमा विमान खसेजस्तो आवाज आयो। उठेर हेर्दा त घरभित्र कार पसेको रहेछ ।” घटनाको केही मिनेटमै प्रहरी, एम्बुलेन्स र दमकल टोली पुगेका थिए ।

दुर्घटना गराउने ३६ वर्षीय कार चालक राइस हकिन्सलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । चालकलाई भने कुनै चोटपटक लागेको छैन । उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो, जहाँ अदालतले उनलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, सोमबार  १० : २० बजे