युद्धहरू गैरकानुनी भन्सार महसुल जस्ता हुँदैनन्, जसलाई राष्ट्रपतिको सनकको भरमा सुरु गर्न वा ओरालो लाग्दै गरेको बजारलाई थाम्नका लागि रोक्न सकियोस् ।
त्यसैले, इरानका पावर प्लान्टहरूमाथि गर्ने भनिएको आक्रमणलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थगन गरेपछि मुख्य प्रश्न यो होइन कि उनले फेरि अर्को “टाको” क्षण देखाए । मुख्य प्रश्न त यो हो कि, के ट्रम्प इरानसँगको यो युद्धबाट बाहिरिन सक्छन्, यदि उनी चाहन्छन् भने पनि?
केही दिनको अस्थिर बयानबाजीपछि सोमबार ट्रम्पले इरानसँगको तनाव कम गर्ने पहिलो संकेत दिए । उनले इरानसँगको ‘फलदायी वार्ता’ मा १५ बुँदे सहमति भएको दाबी गरे, यद्यपि तेहरानले भने कुनै संवाद नभएको बताएको छ । यस घटनाक्रमको सकारात्मक पाटो यो हुन सक्छ कि अमेरिका र इरान दुवै यस्तो विन्दुमा पुगेका छन् जहाँ तनाव बढाउँदा हुने क्षति यति भयानक छ कि दुवैलाई सुरक्षित अवतरणको बाटो चाहिएको छ । यस्ता बोधहरूले नै युद्ध अन्त्यको सुरुवात गर्छन् ।
ट्रम्पले इरानलाई आफ्नो तेल निर्यातको मुख्य नाका ‘स्ट्रेट अफ हर्मोज’ नखोले पावर प्लान्टहरूमा बमबारी गर्ने धम्की दिएर युद्धको संघारमा पुर्याएका थिए । जवाफमा तेहरानले खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रका महत्त्वपूर्ण पूर्वाधारहरू जलाइदिने चेतावनी दियो । यो टकरावले विश्वव्यापी आर्थिक मन्दी निम्त्याउन सक्ने र इरानी नागरिकहरूको मानवीय अवस्था झनै बिगार्न सक्ने खतरा थियो, जुन नागरिकहरूलाई सहयोग गर्ने वाचा ट्रम्पले गरेका थिए । तर, यो गतिरोध तत्कालै अन्त्य हुन्छ भन्नेमा शंका गर्ने धेरै आधारहरू छन् ।
ट्रम्प प्रशासनको विरोधाभासी बयानबाजी, युद्धको ठोस कारण दिन नसक्नु र बहिर्गमनको रणनीति नहुनुले अमेरिकी भनाइहरूको विश्वसनीयतामा ह्रास आएको छ । कतिपय आलोचकहरू के ठान्छन् भने, ट्रम्पको यो ‘युद्धविराम’ केवल सेयर बजारलाई थाम्नका लागि चालिएको कदम मात्र हो । नभन्दै सोमबार अमेरिकी सेयर बजार १% ले बढ्यो भने कच्चा तेलको मूल्य ११% ले घट्यो ।
ट्रम्पलाई किन तनाव कम गर्नु छ?
ट्रम्पले समय लिन खोज्नुको अर्को कारण सैन्य तयारी पनि हुन सक्छ । इरानको तेल उद्योगको केन्द्र ‘खार्ग टापु’ मा आक्रमण गर्न वा तटीय क्षेत्र कब्जा गर्न आवश्यक पर्ने अमेरिकी मरिन्सका सबै टोलीहरू अझै त्यस क्षेत्रमा पुगिसकेका छैनन् । साथै, ट्रम्पको बढाइचढाइ गर्ने बानी पनि जगजाहेर छ । इरान सम्झौताका लागि ‘लालायित’ छ भन्ने उनको दाबी केवल रणनीतिक छलकपट मात्र हुन सक्छ ।
यो अनिश्चितता ट्रम्पको व्यक्तिगत र व्यावसायिक जीवनमा पनि देखिँदै आएको छ । उनी सधैँ आजको संकटलाई भोलिका लागि धकेल्ने र अन्तिम समयमा आएर सम्झौता गर्ने शैलीमा विश्वास गर्छन् । तर, पर्सियन खाडीको यो जटिल परिस्थितिमा उनको यो शैलीले काम नगर्न पनि सक्छ ।
इरान अमेरिकी र इजरायली आक्रमणबाट क्षतविक्षत भएको छ, उसका उच्च सैन्य कमान्डरहरू मारिएका छन् । तर युद्धको चौथो हप्तामा प्रवेश गर्दा इरानले पनि आफ्नो शक्ति देखाएको छ । ‘स्ट्रेट अफ हर्मोज’ बन्द गरेर उसले विश्व अर्थतन्त्र र आउँदो नोभेम्बरमा हुने ट्रम्पको चुनावी सम्भावनालाई बन्धक बनाएको छ ।
जटिल विकल्पहरू र अनिश्चित भविष्य
ट्रम्पले युद्ध अन्त्यका लागि राखेका सर्तहरू, जस्तै इरानले आफ्नो आणविक कार्यक्रम र लामो दुरीका मिसाइलहरू त्याग्नुपर्ने, इरानका लागि स्वीकार्य नहुन सक्छन् । पछिल्ला तीन हप्ताका घटनाक्रमले इरानलाई भविष्यका आक्रमणहरूबाट जोगिन यस्ता हतियारहरू झनै आवश्यक रहेको महसुस गराएको छ । यदि वार्ता भइहाले पनि इरानको तर्फबाट कसले वार्ता गर्छ भन्ने प्रस्ट छैन, किनकि त्यहाँको शक्ति अहिले कट्टरपन्थी ‘इस्लामिक रिभोलुसनरी गार्ड’ को हातमा पुगेको हुन सक्छ ।
अन्ततः ट्रम्पका अगाडि रहेका सबै विकल्पहरू कठिन छन् । उनी युद्ध चर्काउन सक्छन्, तर त्यसले जहाजहरूको आवतजावत सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी छैन । उनी स्थल सेना पठाउन सक्छन्, तर त्यो उनकै “अन्तहीन युद्ध” विरोधी नाराको विपरीत हुनेछ । “विजयको घोषणा” गरेर पछि हट्नु आकर्षक देखिए पनि त्यसले खाडीका सहयोगीहरूलाई असुरक्षित छोड्नेछ र इरानलाई आणविक हतियार बनाउने बाटो खुला गरिदिनेछ ।
अमेरिकी राष्ट्रपतिहरू प्रायः कठिन विकल्पहरूका बीचमा हुन्छन्, तर ट्रम्पले इरानमा आफैँले सिर्जना गरेको जस्तो जटिल चक्रव्यूह सायदै कसैले सामना गरेका होलान् ।
– सीएनएनमा स्टेफन कलिन्सनको विश्लेषणमा आधारित









