१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

के राष्ट्रपति ट्रम्प इरान युद्धबाट बाहिरिन सक्लान्?



युद्धहरू गैरकानुनी भन्सार महसुल जस्ता हुँदैनन्, जसलाई राष्ट्रपतिको सनकको भरमा सुरु गर्न वा ओरालो लाग्दै गरेको बजारलाई थाम्नका लागि रोक्न सकियोस् ।

त्यसैले, इरानका पावर प्लान्टहरूमाथि गर्ने भनिएको आक्रमणलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थगन गरेपछि मुख्य प्रश्न यो होइन कि उनले फेरि अर्को “टाको” क्षण देखाए । मुख्य प्रश्न त यो हो कि, के ट्रम्प इरानसँगको यो युद्धबाट बाहिरिन सक्छन्, यदि उनी चाहन्छन् भने पनि?

केही दिनको अस्थिर बयानबाजीपछि सोमबार ट्रम्पले इरानसँगको तनाव कम गर्ने पहिलो संकेत दिए । उनले इरानसँगको ‘फलदायी वार्ता’ मा १५ बुँदे सहमति भएको दाबी गरे, यद्यपि तेहरानले भने कुनै संवाद नभएको बताएको छ । यस घटनाक्रमको सकारात्मक पाटो यो हुन सक्छ कि अमेरिका र इरान दुवै यस्तो विन्दुमा पुगेका छन् जहाँ तनाव बढाउँदा हुने क्षति यति भयानक छ कि दुवैलाई सुरक्षित अवतरणको बाटो चाहिएको छ । यस्ता बोधहरूले नै युद्ध अन्त्यको सुरुवात गर्छन् ।

ट्रम्पले इरानलाई आफ्नो तेल निर्यातको मुख्य नाका ‘स्ट्रेट अफ हर्मोज’ नखोले पावर प्लान्टहरूमा बमबारी गर्ने धम्की दिएर युद्धको संघारमा पुर्‍याएका थिए । जवाफमा तेहरानले खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रका महत्त्वपूर्ण पूर्वाधारहरू जलाइदिने चेतावनी दियो । यो टकरावले विश्वव्यापी आर्थिक मन्दी निम्त्याउन सक्ने र इरानी नागरिकहरूको मानवीय अवस्था झनै बिगार्न सक्ने खतरा थियो, जुन नागरिकहरूलाई सहयोग गर्ने वाचा ट्रम्पले गरेका थिए । तर, यो गतिरोध तत्कालै अन्त्य हुन्छ भन्नेमा शंका गर्ने धेरै आधारहरू छन् ।

ट्रम्प प्रशासनको विरोधाभासी बयानबाजी, युद्धको ठोस कारण दिन नसक्नु र बहिर्गमनको रणनीति नहुनुले अमेरिकी भनाइहरूको विश्वसनीयतामा ह्रास आएको छ । कतिपय आलोचकहरू के ठान्छन् भने, ट्रम्पको यो ‘युद्धविराम’ केवल सेयर बजारलाई थाम्नका लागि चालिएको कदम मात्र हो । नभन्दै सोमबार अमेरिकी सेयर बजार १% ले बढ्यो भने कच्चा तेलको मूल्य ११% ले घट्यो ।

ट्रम्पलाई किन तनाव कम गर्नु छ?
ट्रम्पले समय लिन खोज्नुको अर्को कारण सैन्य तयारी पनि हुन सक्छ । इरानको तेल उद्योगको केन्द्र ‘खार्ग टापु’ मा आक्रमण गर्न वा तटीय क्षेत्र कब्जा गर्न आवश्यक पर्ने अमेरिकी मरिन्सका सबै टोलीहरू अझै त्यस क्षेत्रमा पुगिसकेका छैनन् । साथै, ट्रम्पको बढाइचढाइ गर्ने बानी पनि जगजाहेर छ । इरान सम्झौताका लागि ‘लालायित’ छ भन्ने उनको दाबी केवल रणनीतिक छलकपट मात्र हुन सक्छ ।

यो अनिश्चितता ट्रम्पको व्यक्तिगत र व्यावसायिक जीवनमा पनि देखिँदै आएको छ । उनी सधैँ आजको संकटलाई भोलिका लागि धकेल्ने र अन्तिम समयमा आएर सम्झौता गर्ने शैलीमा विश्वास गर्छन् । तर, पर्सियन खाडीको यो जटिल परिस्थितिमा उनको यो शैलीले काम नगर्न पनि सक्छ ।

इरान अमेरिकी र इजरायली आक्रमणबाट क्षतविक्षत भएको छ, उसका उच्च सैन्य कमान्डरहरू मारिएका छन् । तर युद्धको चौथो हप्तामा प्रवेश गर्दा इरानले पनि आफ्नो शक्ति देखाएको छ । ‘स्ट्रेट अफ हर्मोज’ बन्द गरेर उसले विश्व अर्थतन्त्र र आउँदो नोभेम्बरमा हुने ट्रम्पको चुनावी सम्भावनालाई बन्धक बनाएको छ ।

जटिल विकल्पहरू र अनिश्चित भविष्य
ट्रम्पले युद्ध अन्त्यका लागि राखेका सर्तहरू, जस्तै इरानले आफ्नो आणविक कार्यक्रम र लामो दुरीका मिसाइलहरू त्याग्नुपर्ने, इरानका लागि स्वीकार्य नहुन सक्छन् । पछिल्ला तीन हप्ताका घटनाक्रमले इरानलाई भविष्यका आक्रमणहरूबाट जोगिन यस्ता हतियारहरू झनै आवश्यक रहेको महसुस गराएको छ । यदि वार्ता भइहाले पनि इरानको तर्फबाट कसले वार्ता गर्छ भन्ने प्रस्ट छैन, किनकि त्यहाँको शक्ति अहिले कट्टरपन्थी ‘इस्लामिक रिभोलुसनरी गार्ड’ को हातमा पुगेको हुन सक्छ ।

अन्ततः ट्रम्पका अगाडि रहेका सबै विकल्पहरू कठिन छन् । उनी युद्ध चर्काउन सक्छन्, तर त्यसले जहाजहरूको आवतजावत सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी छैन । उनी स्थल सेना पठाउन सक्छन्, तर त्यो उनकै “अन्तहीन युद्ध” विरोधी नाराको विपरीत हुनेछ । “विजयको घोषणा” गरेर पछि हट्नु आकर्षक देखिए पनि त्यसले खाडीका सहयोगीहरूलाई असुरक्षित छोड्नेछ र इरानलाई आणविक हतियार बनाउने बाटो खुला गरिदिनेछ ।

अमेरिकी राष्ट्रपतिहरू प्रायः कठिन विकल्पहरूका बीचमा हुन्छन्, तर ट्रम्पले इरानमा आफैँले सिर्जना गरेको जस्तो जटिल चक्रव्यूह सायदै कसैले सामना गरेका होलान् ।
– सीएनएनमा स्टेफन कलिन्सनको विश्लेषणमा आधारित

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ११ : ११ बजे