१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन: मन्त्रिमण्डलद्वारा शपथ ग्रहण



नेपाली राजनीतिमा एउटा नयाँ अध्यायको सुरुवात गर्दै नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति निवास शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई शपथ गराएका हुन् । प्रधानमन्त्रीसँगै उनको नयाँ मन्त्रिमण्डलका सदस्यहरूले पनि सोही समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्। यसपटकको मन्त्रिमण्डलमा युवा र विज्ञ अनुहारहरूको बाहुल्यता देखिएको छ, जसले नागरिकहरूमा नयाँ उत्साह जगाएको छ।

नयाँ सरकारमा निकै चासोका साथ हेरिएको गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङले सम्हाल्ने भएका छन्। गोरखा–१ बाट निर्वाचित गुरुङ जेन–जी आन्दोलनका क्रममा निकै चर्चामा आएका युवा नेता हुन्। त्यसैगरी, मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्ने गरी अर्थ मन्त्रालयको जिम्मेवारी विज्ञ व्यक्तित्व स्वर्णिम वाग्लेलाई सुम्पिएको छ। तनहुँबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित वाग्ले अर्थ मामिलाका स्थापित जानकार मानिन्छन्। परराष्ट्र मन्त्रालयको जिम्मेवारी भने रास्वपाका परराष्ट्र विभाग प्रमुख शिशिर खनाललाई दिइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा कास्कीका निर्वाचित सांसद एवं साहित्यकार खडकराज पौडेल (गणेश) नियुक्त भएका छन् भने महोत्तरीका दीपक साहलाई श्रम मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ। शिक्षा तथा प्रविधि मन्त्रालयको कार्यभार काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेलले सम्हाल्ने भएका छन्। सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा बिक्रम तिमिल्सिना नियुक्त भएका छन् भने पत्रकारिता पृष्ठभूमि भएकी रास्वपाकी सहप्रवक्ता प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्री बनाइएको छ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कमान काठमाडौंबाट निर्वाचित तथा पूर्व संसदीय दलका नेता विराजभक्त श्रेष्ठले पाएका छन्। कृषि तथा सहकारी र वन मन्त्रालयको जिम्मेवारी अधिवक्ता गीता चौधरीलाई दिइएको छ, जो निर्वाचनको केही समयअघि मात्र पार्टीमा प्रवेश गरेकी थिइन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रूपमा सोविता गौतम नियुक्त भएकी छिन्। उनले यसपटकको निर्वाचनमा चितवन–३ बाट पूर्वमेयर रेनु दाहाललाई पराजित गर्दै सानदार जित हासिल गरेकी थिइन्। मन्त्रिमण्डलमा सीता बादीलाई महिला तथा बालबालिका मन्त्री र सुनील लम्साललाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ६ : २० बजे