नेपालको राजनीतिमा निकै प्रभावशाली मानिने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले उनीहरुकै निवासबाट नियन्त्रणमा लिएको छ।
नवनियुक्त बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेलगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो नाटकीय घटनाक्रम विकसित भएको हो। अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो भने पूर्वगृहमन्त्री लेखकलाई कटुन्जेस्थित उनको निवासबाट नियन्त्रणमा लिई प्रहरी परिसर भद्रकाली पुर्याइएको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिका सम्बन्धमा आयोगले यी नेताहरूमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको आधारमा यो कदम चालिएको बताइएको छ।
यस पक्राउ प्रक्रियाका लागि गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखहरूसँग घनीभूत छलफल गर्नुभएको थियो। प्रहरीले आधिकारिक लिखित आदेश माग गरेपछि मध्यरातमा कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानालाई समेत प्रहरी हेडक्वार्टर नक्सालमा झिकाइएको थियो।
कानुन सचिवले लिखित आदेश तयार पारेपछि मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरी ज्यान लिएको कसुरमा अनुसन्धान अघि बढाउन जरुरी पक्राउ पुर्जी जारी गरिएको हो। यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई बुझाइएको उक्त प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई दोषी ठहर गर्दै कारबाहीका लागि स्पष्ट सिफारिस गरेको थियो।
नयाँ सरकारको यो कदमले राजनीतिक वृत्तमा ठूलो हलचल ल्याएको छ भने विधिको शासन स्थापनाका लागि यो एउटा कठोर तर आवश्यक कदम भएको सरकारी पक्षको दाबी छ। आयोगको प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नभए पनि यसका अंशहरू सञ्चारमाध्यममा बाहिरिएसँगै दोषीहरूमाथि कारबाही हुनुपर्ने जनदबाब बढ्दै गएको थियो।
गृहमन्त्री गुरुङले पदभार ग्रहण गरेलगत्तै सहिद र घाइतेका परिवारलाई साक्षी राखेर गरेको प्रतिवद्धताअनुरूप नै यो कानुनी प्रक्रिया अघि बढेको देखिएको छ। अहिले पक्राउ परेका दुवै नेताहरूलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ ।









