१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमाले सडकमा: माइतीघरमा तनाव, कार्यकर्ता र प्रहरीबीच झडप



नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि सिर्जित तनावका कारण शनिबार राजधानीको माइतीघर मण्डला क्षेत्र रणमैदानमा परिणत भएको छ।

‘जेन-जी’ आन्दोलनका क्रममा भएको दमनमा दोषी ठहर गर्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो। यस कदमलाई राजनीतिक प्रतिशोध भन्दै एमालेले देशव्यापी आन्दोलनको घोषणा गरेको छ र सोही अनुरूप शनिबार दिउँसो माइतीघरमा विशाल प्रदर्शन आयोजना गरिएको हो।

प्रदर्शन सुरु हुनु अगावै सम्भावित हिंसात्मक घटनालाई रोक्न सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। नेपाल प्रहरीको टोलीले सडक पेटीमा रहेका ढुंगा र इँटा समेत हटाएको थियो। एमालेको सचिवालय बैठकको निर्णय अनुसार दिउँसो ३ बजे जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरू माइतीघरमा भेला हुन थालेका थिए। आक्रोशित प्रदर्शनकारीहरूले कार्की आयोगको प्रतिवेदन खारेजी र अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरू माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढ्ने क्रममा काठमाडौं जिल्ला अदालत अगाडि टायर बाल्न खोज्दा प्रहरीसँग झडप सुरु भएको थियो।

प्रहरीले टायर निभाउने प्रयास गर्दा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठीचार्ज गरेको थियो। माइतीघर, बबरमहल र विजुलीबजार क्षेत्रमा पटक-पटक प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी परेको थियो। यसै क्रममा प्रदर्शनकारीको एउटा टोली सिंहदरबारको दक्षिण गेटतर्फ अगाडि बढेपछि निषेधित क्षेत्र उल्लंघन गरेको अभियोगमा प्रहरीले एमालेका ७ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले निषेधित क्षेत्रमा पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।

तनावका बावजुद एमालेका जनवर्गीय संगठनहरूले माइतीघरमा कोणसभा सम्पन्न गरेका छन्। कोणसभालाई सम्बोधन गर्दै एमाले नेताहरूले सरकारले पूर्वाग्रह राखेर आफ्ना अध्यक्षलाई पक्राउ गरेको आरोप लगाएका छन्। एमाले केन्द्रीय सदस्य समिक बडालले सरकारले प्रतिशोध साध्न खोजेको भन्दै कार्यकर्ताहरू स्वस्फूर्त रूपमा सडकमा उत्रिएको बताए। युवासंघका प्रवक्ता निरोज पौडेलले अध्यक्ष ओलीलाई रिहा नगरेसम्म आन्दोलन नरोकिने र आइतबारदेखि आन्दोलन थप सशक्त हुने चेतावनी दिए । एमालेले आइतबार जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ।

सरकारका तर्फबाट प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले यो कदम कुनै व्यक्ति विशेष लक्षित नभई चुनावी वाचापत्र र जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको पाटो भएको दाबी गरे । उनले कार्की आयोगको प्रतिवेदनमा ओली र लेखकलाई दोषी किटान गरिएको र सोही आधारमा कानुनी प्रक्रिया अगाडि बढाइएको बताए । पक्राउ परेका अध्यक्ष ओलीलाई हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा र पूर्वगृहमन्त्री लेखकलाई २ नम्बर गण महाराजगञ्जमा राखिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : २८ बजे