१९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026

पाँच वर्षपछि लुम्बिनीमा विद्युतीय बस सञ्चालनमा, एउटा बसबाट सेवा सुरु



बुद्धभूमि लुम्बिनीमा करिब साढे ५ वर्षदेखि अलपत्र अवस्थामा रहेका विद्युतीय बसहरू अन्ततः बुधबारदेखि सञ्चालनमा ल्याइएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठका अनुसार पहिलो चरणमा एउटा बस सञ्चालन गरिएको हो ।

उनका अनुसार भारतीय सीमा नाकाबाट लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै सेवा सुरु गरिएको छ । “आजदेखि एउटा बस सञ्चालनमा ल्याएका छौं, अर्को बस पनि ब्याट्री फेरेपछि आज वा भोलिसम्म सञ्चालनमा ल्याउँछौं,” श्रेष्ठले बताए ।

लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई सहज यातायात सेवा उपलब्ध गराउने उद्देश्यले एशियाली विकास बैंक (एडिबी) ले करिब साढे ५ वर्षअघि ५ वटा विद्युतीय बस र १४ वटा भ्यान उपलब्ध गराएको थियो । तर विभिन्न कारण देखाउँदै ती सवारी साधन लामो समयसम्म प्रयोगविहीन अवस्थामा राखिएका थिए ।

करिब २१ करोड रुपैयाँ बराबरका ती सवारी साधन सञ्चालन नगरी अलपत्र पारिएपछि सरकार र विकास कोषको चर्को आलोचना भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले ती बसहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लैजाने तयारी गरेपछि प्रधानमन्त्रीको कार्यालयले चासो देखाएको थियो ।

प्रधानमन्त्रीको कार्यालयबाट सोमबार मौखिक निर्देशन आएपछि तत्काल बस सञ्चालन गर्न पहल गरिएको र त्यसैको परिणामस्वरूप बुधबारदेखि सेवा सुरु गरिएको हो ।

हालका लागि एउटा बस सञ्चालनमा ल्याइए पनि बाँकी बस तथा भ्यान सञ्चालन गर्न आवश्यक चालक, सहचालक र कार्यविधि अभाव रहेको कोषले जनाएको छ । “अहिले हामीसँग साना गाडीका दुई चालक मात्र छन् । बस सञ्चालनका लागि ठूला सवारी साधन चलाउने अनुमतिपत्र भएका चालक आवश्यक पर्छ,” श्रेष्ठले बताए ।

उनले प्रारम्भिक चरणमा यात्रुबाट भाडा उठाउने व्यवस्था नभएकोले यात्रुबाट स्वैच्छिक योगदानका रूपमा डोनेसन बक्स वा क्यूआर कोडमार्फत रकम संकलन गर्ने तयारी गरिएको बताए । आवश्यक कार्यविधि बनाएपछि मात्र नियमित भाडा प्रणाली लागू गरिनेछ ।

नेपालको प्रचलित यातायात कानुनअनुसार पर्यटक यातायातका लागि हरियो नम्बर प्लेट अनिवार्य भए पनि त्यस्ता सवारी साधन सार्वजनिक रुटमा चलाउन र भाडा उठाउन नपाइने व्यवस्था छ । यसले तत्कालका लागि सेवा सञ्चालनमा आर्थिक चुनौती थपिएको कोषले जनाएको छ ।

एडिबीमार्फत प्राप्त यी बसहरू वातानुकूलित, अपाङ्गतामैत्री, स्वचालित ढोका र कार्डमार्फत भुक्तानी प्रणालीयुक्त १९ सिट क्षमताका छन् भने भ्यानहरू पाँच सिट क्षमताका छन् । लुम्बिनीको पर्यटन प्रवर्द्धन र वातावरणीय संरक्षणलाई ध्यानमा राख्दै यी सवारी साधन उपलब्ध गराइएको थियो ।

तर वर्षौंसम्म खुला आकाशमुनि राखिँदा बसहरूमा क्षति पुगेको छ । १४ वटा भ्यानमध्ये दुई वटा मर्मतसमेत गर्न नसकिने अवस्थामा पुगेका छन् भने अन्य भ्यानहरू कोषका पदाधिकारी तथा कर्मचारीले प्रयोग गरिरहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १० : १८ बजे