१९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026

सिंहदरबारमा प्रधानमन्त्री बालेनको ‘एक्सन’, अब मन्त्री र कर्मचारीले दैनिक कार्यसम्पादन रिपोर्ट बुझाउनुपर्ने



प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारको दशकौँ पुरानो ढिलासुस्ती र प्रशासनिक जडतालाई अन्त्य गर्न नयाँ ‘रिपोर्टिङ प्रणाली’ लागू गरेका छन् । प्रधानमन्त्री शाहले मन्त्रीदेखि उच्च पदस्थ कर्मचारीसम्मलाई एउटै कसीमा राख्दै हरेक दिन गरेको कामको विस्तृत विवरण साँझसम्म बुझाउन कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सबै मन्त्रालय, विभाग र आयोगहरूलाई औपचारिक पत्राचार गर्दै दिनभर सम्पादन भएका कामको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयको यो सक्रियतापछि सबै मन्त्रालयले विवरण संकलन र पठाउनका लागि सहसचिव स्तरका ‘फोकल पर्सन’ समेत तोकिसकेका छन् ।

सरकारले हालै सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची’ को कार्यान्वयनलाई तीव्रता दिन प्रधानमन्त्री शाहले यो कदम चालेका हुन् । कार्यसूचीमा उल्लेखित कामहरू कति अगाडि बढे र कहाँ अल्झिएका छन् भन्नेबारे प्रधानमन्त्रीले दैनिक जानकारी लिन थालेका छन् । प्रधानमन्त्रीले यसै रिपोर्टिङ प्रणालीलाई मन्त्री र कर्मचारीको कार्यक्षमता मूल्यांकनको मुख्य आधार बनाउने संकेत दिएका छन् ।

प्रधानमन्त्रीको यो ‘टास्क’ पछि सिंहदरबारभित्र मन्त्री र कर्मचारीहरूको कार्यशैलीमा परिवर्तन देखिन थालेको छ । काम देखाउनुपर्ने दबाबका कारण केही मन्त्रीहरू कार्यालय समयभन्दा अगावै सिंहदरबार पुग्न थालेका छन् भने मातहतका कर्मचारीहरूलाई पनि कार्यसम्पादनको गति बढाउन निर्देशन दिन थालेका छन् ।

दिनभरको कामको विवरण हरेक दिन कार्यालय समय सकिनुअघि नै प्रधानमन्त्री कार्यालयमा पुग्ने व्यवस्था मिलाइएको छ । यसले सरकारी संयन्त्रभित्र उत्तरदायित्व बढ्ने र काममा हुने ढिलासुस्ती कम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १० : २५ बजे