१९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित



नेकपा एमालेको संसदीय दलको नेतामा पार्टीका प्रथम उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको संसदीय दलको बैठकपछि भएको निर्वाचन प्रक्रियामा बादलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चुनिएका हुन्। निर्वाचन विभागका प्रमुख निरज आचार्यका अनुसार अपराह्न ४ बजेसम्मको निर्धारित समयभित्र बादलको मात्रै दरखास्त परेको थियो।

संसदीय दलको नेताका लागि युवा नेता सुहाङ नेम्वाङले पनि रुचि देखाउँदै फारम लगेका थिए। उनले संसदीय दलको बैठकमा युवाहरूलाई अगाडि बढाउनुपर्ने धारणा राख्दै आफ्नो इच्छा व्यक्त गरेका थिए।

उनलाई प्रस्तावक र समर्थकका रूपमा धनकुटाका सांसद राजेन्द्र राई र संखुवासभाका अर्जुन कार्कीले साथ दिने वचन दिएका थिए। तर, मनोनयन दर्ता गर्ने समयमा पार्टी महासचिव शंकर पोखरेलले सांसदद्वय राई र कार्कीलाई छलफलका लागि भन्दै लगेपछि सुहाङ प्रस्तावक र समर्थकविहीन बन्न पुगे र अन्ततः उनको उम्मेदवारी दर्ता हुन सकेन।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले अपेक्षित नतिजा हात पार्न नसकेको पृष्ठभूमिमा बादलको यो चयन अर्थपूर्ण देखिएको छ। निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित ११ जना शीर्ष पदाधिकारीहरू पराजित भएका थिए भने अधिकांश पूर्वपदाधिकारी र स्थायी कमिटी सदस्यहरूले पनि जित निकाल्न सकेनन्।

यस्तो अवस्थामा समानुपातिक प्रणालीमार्फत सांसद बनेका र अध्यक्ष ओलीको समेत रोजाइमा परेका पहिलो वरीयताका उपाध्यक्ष बादललाई दलको नेतृत्व सुम्पिएको हो।

पूर्व माओवादी नेतासमेत रहेका बादलको एमालेसँगको यात्रा पछिल्लो समय प्रगाढ बन्दै गएको छ। २०७७ सालमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले त्यसलाई ‘प्रतिगमन’ भन्दै सडक आन्दोलन गर्दा बादल ओलीको पक्षमा दृढतापूर्वक उभिएका थिए।

तत्कालीन समयमा गृहमन्त्री रहेका उनले ओलीको कदमलाई संविधान र आन्दोलनको रक्षाका लागि चालिएको सुझबुझपूर्ण कदम भन्दै बचाउ गरेका थिए। नेकपा विभाजन र एमालेभित्रको टुटफुटका क्रममा पनि ओलीलाई साथ दिएका बादल १०औं महाधिवेशनबाट उपाध्यक्ष र ११औं महाधिवेशनबाट प्रथम उपाध्यक्ष बनेका थिए।

लामो राजनीतिक इतिहास बोकेका ७० वर्षीय बादलको यात्रा २०२४ सालमा गुल्मीबाट सुरु भएको थियो। कृषिमा स्नातक गरेका उनी २०३७ सालदेखि औपचारिक रूपमा कम्युनिस्ट राजनीतिमा सक्रिय छन्। २०५२ सालको सशस्त्र संघर्षमा सैन्य कमान्डरको भूमिका निभाएका उनी शान्ति प्रक्रियापछि रक्षामन्त्री र गृहमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका छन्। ‘जेनजी’ आन्दोलन र चुनावी पराजयका कारण एमालेको नेतृत्व तहमा आएको फेरबदलसँगै अब संसदीय फाँटको कमान्ड सम्हाल्ने जिम्मेवारी बादलको काँधमा आइपुगेको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १० : २८ बजे