१९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026

ओली र लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, अस्पतालमै बयान



पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन अनुसन्धानका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले दुवै जनाविरुद्ध अनुसन्धान जारी राख्न दुई दिन म्याद थप गर्ने आदेश दिएको हो। ओली स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना रहेकाले उनको म्याद भर्चुअल माध्यमबाट थप गरिएको जनाइएको छ।

यसअघि गत आइतबार अदालतले उनीहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। सो अवधि सकिएपछि प्रहरीले थप समय माग्दै अदालत पुगेको थियो।

दुवैलाई जेन–जी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा गत शनिबार पक्राउ गरिएको हो।

प्रहरी नियन्त्रणमा रहेका ओलीसँग बयान लिन सुरु गरिएको छ। भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन दमनसँग सम्बन्धित आरोपमा अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमै पुगेर बयान लिन थालेका हुन्।

स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकको सिफारिसअनुसार अस्पताल बाहिर लैजान नमिल्ने भएपछि त्यहीँ बयान लिने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। उनका अनुसार आयोगले किटान गरेका विषयहरूमा आजदेखि बयान सुरु गरिएको हो।

उता, ओलीसँगै पक्राउ परेका रमेश लेखकको बयान भने पूरा भइसकेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरी काफ्लेका अनुसार लेखकसँग आवश्यक बयान लिने प्रक्रिया सकिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ८ : ५२ बजे