भोटेकोसीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार २०४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट मानव अङ्गसहित १ हजार २०४ वटा शव फेला परेको पुष्टि गरेको हो।
प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा ३४८ वटा शव भेटिएका छन्। यस्तै नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, नुवाकोटमा १५५, रसुवा (टिमुरे क्षेत्रसहित) मा ११५, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ वटा शव फेला परेका छन्। हालसम्म फेला परेकामध्ये ९५ वटा शव मात्र आफन्तले पहिचान गरी बुझेका छन्।
नेपाल प्रहरीका अनुसार पहिचान हुन नसकेका ५ सयभन्दा बढी शवलाई कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन (पुरिसकिएको) गरिसकिएको छ। बाँकी रहेका शवहरूलाई पनि केही दिन पहिचानका लागि राखिने र सनाखत हुन नसके डीएनए परीक्षणका लागि नमुना सुरक्षित राखेर जमिनमुनि गाडिने जनाइएको छ।
यसैबीच, बाढीमा परी अझै ४ हजार २१६ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य विभिन्न जिल्लामा निरन्तर जारी राखिएको छ।









