२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

भरणी नक्षत्रका पुरुष कस्ता? महिला कस्ता? कति वर्षमा के हुन्छ?


५ पुस २०७४, बुधबार  

0
Shares

प. उद्ववराज शास्त्री
(साहित्य, भागवत, ज्योतिषाचार्य)

पूर्वी दर्शनमा २७ नक्षत्र अश्विनी भरणी कृतिका रोहिणी इत्यादि नामका हुन्छन् । कुनै आचार्यको मतमा अभिजित पनि छुट्टै नक्षत्र हुनाले २८ नक्षत्र पनि हुन जान्छ । मुख्यतः अभिजितलाई नलिइने हुनाले यहाँ क्रममा २७ नक्षत्रको वर्णन गरिन्छ ।
आदरणीय पाठकवृन्द अघिल्ला अंकमा अश्विनी नक्षत्रको बारेमा चर्चा गर्यौ । यसपटक भरणी नक्षत्रबारे चर्चा गर्नेछौ ।

भरणी नक्षत्र

ली लु ले लो–यी अक्षरबाट आफ्नो नाम आरम्भ हुने महानुभावहरुको भरणी नक्षत्र हो । जुन मनुष्य भरणी नक्षत्रमा जन्मन्छन् । तिनीहरु सदैव अपजश भागी, निन्दायुक्त सधै आनन्दपूर्वक जीवन विताउने, पानीबाट अत्यन्त डराउने, तुरुन्त रिसाउने, वादविवादमा अग्रसर, हरेक कार्य तत्काल पूर्ण होस भन्ने भावना राख्ने, सदैव सत्य बोल्ने, झुठ असत्य इत्यादि सहन नसक्ने, खरो स्वभावका साथै सफा मनका धनी हुन्छन् । आनन्द एवं हासो विलासमा सदैव तत्पर रहने विशेष गुण यिनीहरुको हुन्छ ।
यो नक्षत्रको स्वामी यमराज हो भने राशि मेष हो । राशि स्वामी मंगल गृह हो । क्षत्री वर्ण, गज योनी, सिंह वैरयोनि, मनुष्य गण, मध्य नाडी, अग्नि तत्व चर संज्ञक पूर्व दिकद्वारी राशि हो ।

कस्तो व्यवसाय फाप्ला ?

सौन्दर्य सम्बन्धी व्यवसाय, मनोरञ्जनका सामग्री, चिकित्सा क्षेत्र, औषधीको व्यापार, वाद्यवादन यन्त्र, धातु, मेसिन, औजार, कलकारखाना, अर्थात फलाम सम्बन्धी कर्म तथा ठेक्कापट्टा, छालासम्बन्धी व्यवसाय इत्यादि ।

कति वर्षमा कस्तो होला ?

१) जन्मेदेखि ५ वर्षसम्म? भद्रिका र शुक्रको पालो । स्वास्थ्य, शिक्षा, धन–सम्पत्ति सबै क्षेत्र राम्रो ।
२) ६–११ वर्षसम्मः उल्का र शुक्र ग्रहको पालो । यस बीचमा रोग व्यधिबाट पीडा, झगडा, कलह, अत्यन्त रिस उठ्ने, बुद्धि भ्रष्ट, कार्यमा हानी ।
३) १२–१३ वर्षः सामान्य जीवन यावन होला ।
४) १४–१८ वर्षः सिद्ध सूर्यको पालो । विदेशे यात्रा, दुःख रोगको भय, बन्धु वियोग, धनसम्पत्ति चोरी हुनसक्ने । तथा विद्या सिद्धी ।
५) १८–२४ वर्षः संकटा र चन्द्रमाको पालो । विवाह जस्ता शुभकार्य पनि होलान् । लाभ हानी, सुख दुःख बराबर, कार्यहरु, कष्टपूर्वक सिद्धि होलान ।
६) २४–२६ वर्षः मंगला र पिंगलाको पालो । रोग–शोक, झगडा, मोह, वादविवाद ।
७) २७–२८ः भाग्योदय होला । सन्तान सुख ।
८) ३२–३६ः वैदेशिक भ्रमण, स्त्रीपीडा, दुःखकष्ट, खर्चमा वृद्धि, झैझगडा, ऋण लाग्न सक्ला ।
९) ३७–४१ः वर्षसम्मः सामान्य जीवनयापन। उतारचढाव बराबर । दुःख सुख बराबर ।
१०) ४१–४६ः आफ्ना दाजुभाई, इष्टमित्रसँग वादविवाद, धन नाश, कष्ट।
११) ४८–५१ वर्षःकुनै अनिष्ट पर्न सक्छ ।
१२) ५५–६२ वर्षः प्रत्येक कार्य चुनौतीपूर्ण, दुःख कष्ट, धननाश, राज भय, रोग व्याधिद्वारा पीडा ।
१३) ६५ वर्ष–मध्यम प्रकारको ।
१४) ६६ वर्षः अशुभ ।
१५) ६७–९२ वर्षः शुभ समय ।

विशेष

यस नक्षत्रमा जन्मेका मानिसहरु प्रायः रगतसम्बन्धी विरामी हुनेछन् । यिनीहरुलाई कडा ज्वरो, औलो, घाउखटिरा, कुनै अंग कमजोर, आगोद्वारा पोल्ने इत्यादि हुनसक्छ । त्यसैले चिया कफी नपिउदाँ राम्रो होला । अत्यन्त कडा रिस उठ्ने हुनाले अमिलो पिरो जस्ता ब्लडप्रेसर उच्च हुने खानेकुरा कम खानु बुद्धिमानी हुनेछ ।

भरणी नक्षत्रका महिला

यस नक्षत्रका महिलाहरु अत्यन्त रुपवान हुन्छन्। त्यसैले सदैव आफ्नो पतिप्रति हाबी हुन चाहन्छन् । पतिलाई आफ्नो इच्छाअनुसार चलाउनु यिनीहरुको मुख्य प्रायोजन हुन्छ । यिनीहरुका पति पनि यिनीहरुप्रति पूर्ण आशक्ति राख्दछन् । विवाहपश्चात महिलाहरुलाई प्राय रगतको कमी हुन जान्छ ।

प्रकाशित मिति : ५ पुस २०७४, बुधबार  १० : ५५ बजे