सिकागो । गैरआवासीय नेपाली संघ रार्ष्ट्रिय समन्वय समिति (एनआरएन एनसिसि) साधारण सभा अमेरिकाको सिकागोमा भव्य रुपमा शुरु भएको छ ।
जुलाई ६ मा प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले पानसमा बत्ती बालेसँगै साधारण सभाको उद्घाटन सत्र शुरु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले साधारण सभाको शुभकामना दिए ।
कार्यक्रममा कसले के भने ?
उद्घाटन कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले राज्य व्यवस्था समितिमा रहेको मस्यौदा छिटोछिटो संसद्मा पुग्न दबाव आवश्यक रहेको बताए । उनले सबै नेपालीले पूर्ण अधिकार पाउनका लागि कानुन बन्नुपर्ने र नेपालीले विदेशबाट पनि भोट हाल्न पाउन पाउने कानुन बन्नुपर्ने माग राखे । भने, ‘यसका लागि गच्छेदारलाई अनुरोध गर्छु । दोहोरो ट्याक्स तिर्नुपरेको छ । यसबारे नेपाल सरकारले ध्यान देओस ।’
एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र क्षेत्रीले दोहोरो नागरिकताका लागि सरकारलाई दबाव जारी राखेको जानकारी दिए । क्षेत्रीले भने, ‘संविधानले दिएको अधिकारअनुसार नागरिकता पाउनुपर्छ भन्ने विषयमा अगाडि बनाइदिनुस् भन्ने हाम्रो आग्रह हो ।’
रिजनल कोर्डिनेटर गौरी जोशीले सबैलाई उदार भएर हिँड्न आग्रह गरे । भने, ‘नयाँ साथीहरुलाई उदार भएर हिड्न आग्रह गर्दछु । नयाँ टिमले एनआरएन मजबुद बन्नेछ भन्ने विश्वास गरेको छु ।’
उनले यसपटक आइसिसीमा महत्वपूर्ण जिम्मेवारी पाउनेछ भन्नेमा विश्वस्त भएको बताए । उनले यसपटक म्यान्मरमा कार्यक्रम जुधेकाले आइसिसीको नेतृत्व सहभागी हुन नसकेको स्पष्ट पारे । जोशीले भने, ‘एसिया प्यासिफिकको बैठक म्यान्मारको याङ्गुनमा भएकोले केन्द्रीय नेतृत्वको सहभागिता नभएको हो । उहाँहरुले शुभकामना पठाउनुभएको छ ।’
कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले गैरआवासीय नेपालीले राजनीतिक अधिकार पनि माग्नुपर्ने बताए । गुरुङले भने, ‘राजनीतिक अधिकार पनि माग्नुपर्छ भन्ने मेरो अनुरोध छ । पिआरधारी व्यक्तिको राष्ट्रप्रति ममता हुँदैन भन्ने माहोल बनाई दियो । तर त्यस्तो होइन, देशप्रति सबैको ममता हुन्छ । धारा २९१ खारेज भयो भने धेरै राम्रो हुन्छ । म नेपालबाट आवाज उठाउँछु ।’
कांग्रेसका अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रधानमन्त्री केपी शर्माप्रति ओलीप्रति लक्षित गर्दै गफ गरेर डबल डिजिटको आर्थिक प्रगति नहुने दाबी गरे । भने, ‘गफ गरेर डबल डिजिटमा पुग्न सक्दैन । हामीले ट्याक्स हेभेनका रुपमा भित्र्याउन पर्छ । सम्पत्तिको सुरक्षा दिनुपर्यो । अनिमात्र देशमा विकास हुन्छ ।’
एनआरएन अमेरिकाका नवनिर्वाचित अध्यक्ष सुनिल साहले समाजसेवाका लागि हातेमालो गर्नुपर्ने बताए । भने, ‘समाजसेवाका लागि हातेमालो गरौ । चुनावमा हार्दैमा बाहिर हुनुहुन्न। एनआरएन अभियानमा हामी सँगसँगै छौ । यो संस्थामात्र हैन अभियान पनि हो ।’
विरोध गर्न सजिलो हुने र काम गर्न गाह्रो हुने उल्लेख गर्दै जोशीले सबै मिलेर काम गर्नुपर्ने बताए ।
अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले नेपाल सरकारले एनआरएनलाई वैधानिकता दिएको उल्लेख गर्दै नेपालमा रहेको जतिकै अमेरिकामा रहेको नेपालीको माया नेपालप्रति रहेको पाएको बताए । राजदूत कार्कीले भने, ‘नेपालमा बस्ने हामी नेपालमा बस्ने जतिकै माया देखे । साथ दिन खोजेको देखे । नेपाल राम्रो बनोस भन्ने यहाँका नेपालीले चाहेको देखे ।’
मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स एचबी भण्डरीले अबका दिनमा एसियन अमेरिकन लिडर अमेरिकाले चाहेको बताए । भण्डारील भने, ‘चीनले इन्जिनियर प्रोड्युस गर्दैछ। हाम्रा बच्चाहरुलाई कसरी इन्जिनियर बनाउने कसरी डक्टर बनाउने । यसमा खै चासो। हामी गैरनाफामुलक संस्थामा चुनाव उठ्छौ । अनि मुद्दा हाल्छौ। ह्वाइट ब्ल्याकको फरक फरक मोडल छ । तर एकजना पनि एसियन अमेरिकन लिडर छैन । धेरै एसियन अमेरिकनहरु हाम्रो अधिकारका लागि लडेका छन् ।’
अमेरिकाले नेपालीका लागि धेरै दिएको दाबी गर्दै उनले अमेरिका आइडियाको मुलुक भएको बताए । भने, ‘अमेरिकाले धेरै दिएको छ । ग्यास स्टेशनमा काम गरेको केटो ल मेर बनेको छ । यही छ अमेरिकाको ब्युटी। अमेरिका इज अल एबाउट आइडिया ।’
कांग्रेस सांसद एवं पूर्वमन्त्री सञ्जय गौतमले एनआरएनको शक्ति राष्ट्र निर्माणमा खर्च हुनुपर्ने धारणा राखे । भने, ‘एनआरएनको शक्ति राष्ट्र निर्माणमा खर्च होस । तपाईले आर्जन गरेको सीप र पूजी नेपालमा लगानी होस । हाम्रा युवाहरु देश निर्माणमा लागोस ।’
कार्यक्रममा एनआरएन आइसिसीका अध्यक्ष भवन भट्ट र महासचिव बद्री केसीको शुभकामना सन्देश पढेर एनआरएन अमेरिकाका महासचिव बीआर लामाले पढेर सुनाएका थिए ।
कार्यक्रममा अनररी जेनेलर कन्सलर अफ नेपाल मार्भिन रसिन, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, एनआरएन अन्तरार्ष्ट्रिय समन्वय परिषद्का सल्लाहकार हरिबोल भण्डारी, एनआरएन अमेरकाका निवर्तमान अध्यक्ष डा केशव पौडेल, अनेरस्ववियुका पूर्व उपाध्यक्ष थोमस बास्तोला, एनआरएनए पूर्व सल्लाहकार यादव पण्डित, सिकागो ल्यान्ड नेपाली फ्रेन्डसिपका अध्यक्ष टेकराज पौडेल, टास्क फोर्सबाट गोपाल रेग्मी, गैरआवासीय नेपाली संघका सल्लाहकार अर्जुन सिग्देल, पत्रकार कबिर राना, नेजाका महासचिव किरण मरहट्ठ, गैरआवासीय नेपाली संघकी आइसिसी सदस्य प्रमिला बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । सिकागोमा राज्यमा जारी एनआरएनए अमेरिकाको यो ऐतिहासिक कार्यक्रम सफल बनाउन हामी पूर्ण रुपमा तयारीका साथ लागेको कन्भेनर राधा पौडेलले बताइन् ।
नाथनलाई सम्मान
कार्यक्रममा नेपालमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितमा ५ स्वर्णसहित ७ पदक जित्न सफल पौडी खेलाडी नाथन दोर्जे शेर्पालाई सम्मान गरियो । उनलाई प्रमुख अतिथि विजय गच्छेदारले सम्मानपत्र प्रदान गरे ।
यो पनि पढ्नुस्: पौडीमा पाँच स्वर्ण जित्दै एनआरएनएको शिर उँचो बनाए १५ वर्षे नाथनदोर्जे शेर्पाले
गच्छदारले एनआरएन अमेरिकाको स्मारिकासमेत विमोचन गरेका थिए ।
विन्क्नस च्याप्टरका अध्यक्ष बुद्धि सुवेदीले स्वागत गरेको कार्यक्रम एनआरएन अमेरकिका महासचिव बीआर लामाले सञ्चालन गरेका थिए ।
कार्यक्रम सफल बनाउन योगदान दिनेहरुलाई कन्भेनर राधा पौडेल र अध्यक्ष डा केशव पौडेलले सम्मान गरे । त्यसैगरी विधान संशोधनसँगै साँस्कृतिक कार्यक्रमपछि वरिष्ठ पत्रकार हरिशरण लामिछानेले निर्माण गरेको नालापानी वृतचित्र प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीले शपथ लिए ।