३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

डल्लासवासी ल्होछारमा रमाए



टेक्सास, डल्लास । टेक्सासको डल्लास सहर आफ्नै गतीमा व्यस्त रहेको बेला त्यहाँ बसोबास गर्ने तामाङ समुदायको ल्होछार पर्वले अरु चहलपहल रौनकता थपेको थियो । प्रसंग गत महिनाको अन्तिम सप्ताहान्तको हो । तामाङ सोसाईटी अफ डल्लासले आफ्नो नियमित वार्षिक कार्यक्रमको रुपमा तेस्रो वर्ष ल्होछार पर्वको आयोजना गरेर डल्लास सहरलाई अझै व्यस्त बनाएको थियो ।

ल्होछार तामाङहरुको सांस्कृतिक चाड हो । केही वर्षयता संसारभर छरिएर बसोबास गर्ने तामाङहरुले यसलाई भव्यताका साथ मनाउने गरेका छन् । डल्लास सहरमा तामाङहरुको बसोबासको दुई दशक भइसकेको तथ्याङ्क रहे पनि संगठित रुपमा यसरी भव्य रुपले सामूहिक ल्होछार मनाएको तेस्रो वर्षमात्र भएको छ । यसरी संगठित ल्होछार मनाउँदा तामाङ समुदायमात्रै नभएर अन्य समुदायले पनि तामाङ समुदायको मौलिक चलन, मूल्य र मान्यतामा आधारित संस्कार, संस्कृति र भेषभुषामा सजिएर मन छुने मौलिक गीत संगीत र नृत्यहरुमा सँगसँगै रमाउन सक्ने भएकोले लोकप्रिय कार्यक्रम बन्दै गएको छ ।

ल्होछारको समय भएपछि अन्य समुदायले राखेको चासोले यसलाई इंगित गरेको आयोजकको भनाइ छ । यसले तामाङ समुदायको मौलिक पहिचानलाई स्थापना गराएको पनि आयोजकको दाबी छ ।

अमेरिकाभित्र प्रायः नेपाली समुदायका कार्यक्रमको सुरुवात नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट नै हुन्छ । त्यही भयो डल्लासको ल्होछारमा पनि । उमेरमा सानै तर प्रतिभाशाली नानीहरु एलिजा गुरुङ र नीमा शेर्पाका कलिला हातहरुले समातेका भायोलिनबाट मातृभूमि नेपालको न्यानो सम्झना र कर्मभूमि अमेरिकाको सम्मानस्वरुप राष्ट्रिय गानका धूनहरु निक्लेका थिए । उपस्थित सबैलाई मन्त्रमुग्ध बनाइए ।

त्यसपछि बौद्धमार्गी तामाङ समुदायको प्रचलनअनुसार लामा गुरु साङ दोर्जे योन्जनबाट साङ सेर्गेम (पूजा पाठको एउटा विधि) गरी कार्यक्रम सफलताको लागि प्रार्थना भयो । त्यसपछि भने कार्यक्रम सञ्चालक सूर्य मोक्तान देखा परे । उनले उपस्थित सबैलाई स्वागत गर्दै ल्होछारको शुभकामना आदानप्रदान गर्ने गरी कार्यक्रमलाई औपचरिकतातिर मोडे ।

कार्यक्रममा उपस्थित अथितिहरु एनआरएनए अमेरिकाका पूर्वसहकोषाध्यक्ष तथा तामाङ सोसाईटी अफ अमेरिकाका पूर्वमहासचिव एवं यूवा व्यवसायी पवन योन्जन, मगर सोसाईटी अफ अमेरिका, टेक्सास च्याप्टरका सभापति भुवन आले, लाईन्स क्लब, डल्लासका सभापति सुरेश बस्याल, राई सोसाईटी अफ अमेरिका टेक्सास च्याप्टरका सभापति दिलीप राई, अमेरिकन मधेसी सोसाईटी टेक्सास च्याप्टरका सभापति शशी यादव, डल्लासस्थित आर्लिङ्टन विश्वविद्यालयका प्रोफेसर तथा वैज्ञानिक डा. सुमन सत्याल, मानवअधिकार अधिवक्ता बुद्धश्री लामा, नेपालको काभ्रेपलान्चोक जिल्ला मदन देउपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष दिलबहादुर ग्लान तामाङ लगायतले छोटो शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको औपचारिक सत्र संस्थाका अध्यक्ष छिरिङ लामा दोङको सभापतित्वमा भएको थियो । औपचारिक कार्यक्रमलाई समापन गर्ने क्रममा अध्यक्ष दोङले ल्होछार कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई विशेष धन्यबाद दिए । उनले प्रत्यक्ष सहयोगीहरुमा नेपालबाट मुस्ताङ कफी, डल्लासका कस्टम जोन, योन्जन क्रियटिभ हाईभ, क्विक अटो कियर लगायतका नाम लिएका थिए । आफ्ना कार्यसमितिका सदस्यहरु र समुदायका सबै सहयोगीहरुप्रति पनि उनले विशेष आभार प्रकट गरेका थिए ।

मन्तव्यमा उनले भने, ‘भिजिट नेपाल २०२० चालु छ । बुद्ध र हिमाल देखाएर त हामीले पर्यटकलाई नेपाल बोलाएकै छौं । नेपाल सांस्कृतिक बिविधतामा पनि निकै धनी छ । हाम्रो सांस्कृतिक विविधताहरुले पनि पर्यटकहरुलाई राम्रो आकर्षण गर्न सक्छन् । यसतर्फ बेलैमा सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ ।’

औपचारिक कार्यक्रम सकिँदा २२० जनाको क्षमता रहेको कार्यक्रम हल भरीभराउ भयो । कार्यक्रम पनि सांगीतिकतिर मोडियो । सुरुमा आयोजक संस्थाकै अध्यक्ष छिरिङ लामा दोङको मौलिक प्रस्तुति थियो । उनले मौलिक बाजा डम्फू र टुङ्नाका धूनमा आफ्नै शब्दहरु मिसाएर ल्होछार शुभकामना एवं स्वागत गीत तयार पारेर आफैले गाएका थिए । उनको मौलिक प्रस्तुति अब्बल थियो । हलबाट प्रतिक्रिया स्वरुप ताली गुन्जीए । जिना दोङ, जिम्मी दोङ, जोजो दोङ, जिनी दोङ लगायतका युवा पुस्ताबाट गरिएको प्रस्तुति हेर्दा नयाँ पुस्ताले आफ्नो पुख्र्यौली संस्कृतिलाई गरेको माया र सम्मानको आभास दिएको थियो ।

चर्चित गायक निमा रुम्बाको प्रतिक्षामा रहेका सहभागीहरुलाई पोर्चुगलदेखि आइपुगेका अर्का गायक कुन्साङ वाइबाको सेलो र म्हेन्दोमायाको बेजोड प्रस्तुतिले मज्जाले नचाएरै छाड्यो । बीचबीचमा डल्लास आसपासकै गायक तथा नृत्यकारहरुबाट प्रस्तुत भएको सेलो नृत्य र गायनले पनि उस्तै ताली बटुलेका थिए । रमाइरहेका दर्शक बीचमा गायक निमा रुम्बाको उपस्थितिले थप रौनकता बढाएको थियो । अधिकांशले उनको गीतमा नाचेर साथ दिए । राति अबेरसम्म पनि ल्होछारको रमाइलोमा धेरैजना झुमिरहेका थिए ।

गायकद्वय निमा रुम्बा र कुन्साङ वाइबाले गीत, संगीतको क्षेत्रमा पुर्‍याएका योगदानको कदर गर्दै आयोजक संस्थाले प्रदान गरेको सम्मानपत्र गायक रुम्बाले अध्यक्ष छिरिङ लामा दोङबाट र गायक वाइबाले महासचिव शंकर घिसिङबाट ग्रहण गरेका थिए ।
(डल्लासबाट सूर्य मोक्तानको सहयोगमा)

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ६ : ०२ बजे