२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

न्युयोर्कवासी नेपाली युवतीद्वारा १५ वर्षअघि भएको यौन दुर्व्यवहारको खुलासा, नेपाली समाजमा तरंग



न्युयोर्क । न्युयोर्कमा बस्ने एक युवतीले आफु नाबालिक हुँदा अभिभावक जस्तै मानेको एक व्यक्तिले यौन दुर्व्यवहार गरेको बताएकी छन् ।

न्युयोर्कबासी प्रीया शाहीले आफु छ वर्षको हुँदा यादव गौतम नामक ब्यक्तिले यौन दुर्व्यवहार गरेको १५ वर्षपछि खुलासा गरेकी हुन् । दुई दिन अघि उनले आफु नाबालिकनै रहेको बेला गरिएको यौन दुर्व्यवहारका बारे सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश सार्वजनिक गरेकी हुन् ।

प्रीयाले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरेको पीडादायिक सन्देशले अमेरिकी नेपाली समाजमा तरंग ल्याएको छ । प्रितीकी अभिभावकले पनि छोरी नावालिक रहेकै बेला भएको दुर्व्यवहारले दुखित् बनाएको बताएका छन् ।

प्रीयाले आफ्नो सन्देशमा गौतमले आफुलाई कसरी यौन दुर्व्यवहार गरे भन्ने मात्र उल्लेख गरेकी छैनन्, अरुलाई पनि दुर्व्यवहार गरेको जानकारी भएकोले उनको वरिपरि आफ्ना बालबालिकाहरु नलैजान सुझाएकी छन् ।

‘हामीले अभिभावक जस्तो मानेर अदार गरेको व्यक्तिले हाम्रो नाबालक छोरीमाथि त्यस्तो दुर्ब्यहार गरेको थाहा पाउँदा निकै दुख लागेको छ’ प्रीयाका बाबु मिलन शाहीले भने, ‘छोरीले सानोमा पोख्न नसकेर आफु भित्र गुम्सिएको पीडा १५ वर्षपछि सार्वजनिक गरिसकेपछि अब हामी गलत गर्ने व्यक्तिलाई छोरीकै इच्छा अनुसार कानुनी करवाहीको लागि लाग्ने छौ ।’

मिलनका अनुसार सन २००३ मा रिज्यउडमा प्रीयाको परिवार सँगै गौतम अढाई वर्ष एउटै अपार्टमेन्टमा रुम मेटको रुपमा बसेका थिए । त्यही बेला परिवारका सदस्यहरु विहान काममा गएर बेलुकी ढिला आएको बेला गौतमले नाबालक छोरीलाई अश्लिल भिडियोहरु देखाउने र यौन दुर्ब्यवहार गरेको हालै मात्र छोरीले सन्देश सार्वजनिक गरेपछि थाहा पाएको मिलनले बताए ।

‘हामीसँगै बस्छु भनेर निकै हारगुहार गरेर सँगै रुम मेट राखेको गौतमले त्यस्तो गलत गर्छ भनेर हामीले सोचेको पनि थिएन । तर गतल नियत बोकेको गौतमको बास्तविकता अब बाहिरिएको छ’ उनले भने, ‘मेरो छोरी पीडित भएर नै हो नत्र भने उहाँ जस्तो ६० वर्ष नाघिसकेको व्यक्तिलाई यस्तो आरोप लगाउनु के जरुरी छ र?’ २१ वर्षिया प्रीयाले पत्रकारिता विषयमा ग्राजुयट गरिसकेकी छन् ।

नेपालमा होस् वा विदेशमा, जहाँ सुकै भए पनि नेपाली समाजमा अझै पनि कतिपय बालबालिकाहरु यौन दुर्व्यवहारको शिकार भइरहेकोले यस्तो गलत क्रियाकलापको अन्त्यका लागि छोरीले साहस गरेको मिलनले बताए ।

‘कुनै पनि बालबालिकालाई दुर्व्यवहार गरेमा १५ वर्ष पछि पनि नछोड्ने रहेछ भन्ने सन्देश दिलाउनका लागि छोरीले थालेको यो कार्यमा हामी पूर्ण रुपमा साथ दिन्छौं’ उनले भने, ‘नेपाली समाजमा यस्ता कैयौं बालबालिकाहरु यस किसिमको दुर्व्यवहारको सिकार भइरहेको भएपनि भन्न नसकेको हुनसक्छ ।’

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  १२ : ४३ बजे