२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

तामाङ समाज अमेरिकाले २० हजार डलरको कोष स्थापना गर्ने



न्युयोर्क । तामाङ समाज अमेरिकाले आफ्नो दोश्रो वार्षिकोत्सव २० हजार डलरको कोष घोषणा गरेर सम्पन्न भएको छ ।

न्युयोर्कको लंग आइलेन्डस्थित भ्याली स्ट्रिम पार्कमा जून २८, २०२० का दिन भएको वार्षिकोत्सवमा संस्थाका कार्य समितिका पदाधिकारी एवं सदस्यका परिवारहरु सहभागी थिए ।

संस्थाका महासचिव विनिता तामाङले विश्वव्यापी कोरोना महामारीको कारण समुदायको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै दोश्रो वार्षिकोत्सव कार्यक्रम सिमित घेराभित्र रहेर सम्पन्न गरिएको बताइन् । पारिवारिक जमघटमा बारबिक्युसहित सम्पन्न दोश्रो वार्षिकोत्सवको अवसर परेर संस्थाका अध्यक्ष सानुमाया तामाङले निकट भविश्यमा कार्यान्वयन हुने गरेर २० हजार अमेरिकी डलर बराबरको “लोकसेवा परिक्षा उत्प्रेरणा कोष” तामाङ समाज अमेरिकाले नेपालमा सञ्चालन गर्ने घोषणा गरिन् ।

अध्यक्ष सानुमायाका अनुसार नेपालको निजामती क्षेत्रमा तामाङ जातिको अत्यन्तै नगन्य मात्रामा उपस्थिति रहेको सन्दर्भमा लोकसेवा परिक्षामार्फत निजामती सेवामा प्रवेश गर्न चाहने तामाङ विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो । यो परियोजना नेपालको स्थानीय संस्थासँग सहकार्य गरेर सञ्चालन गरिने बताइएको छ ।

कोषको लागि दोश्रो वार्षिकोत्सवकै दिन उपस्थित सहभागीहरुबाट १२,५०० अमेरिकी डलर संकलन भएको र बाँकी अपुग रकम संस्थाका शुभचिन्तकहरुबाट संकलन गरिने कोषाध्यक्ष तुलबहादुर तामाङले बताए । कार्य समितिको आगामी बैठकबाट कोष सञ्चालनको लागि एउटा विशेष समिति गठन हुने र कोष सञ्चालनको विधि र प्रक्रिया सो समितिले तयार गरेर कार्य समितिले अनुमोदन गरेपछि “लोकसेवा परिक्षा उत्प्रेरणा कोष” को बिस्तृत जानकारी समुदायलाई सम्प्रेषण गर्ने योजना रहेको संस्थाका सचिव रोज बहादुर घिसिङले बताए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ५ : २९ बजे