९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

डेलिगेट ह्यारी भण्डारीको पहलमा दशै विधेयक हाउस अफ एसेम्बेलीमा पारित


Ang

६ चैत्र २०७८, आइतबार  

0
Shares

अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बलीमा दशै विधेयक पारित भएको मेरिल्याण्ड हाउस अफ एसेम्बली हृयारी भण्डारीले जनाएको छ । उक्त विधेयक मार्च १७ तारिखको दिन बहुमतले पारित भएको भण्डारीद्धारा जारी विज्ञाप्तीमा जनाएको छ । अमेरिकामा नेपाली मुलको नेता भण्डारीको पहलमा दशै नेपालमा उत्पति भएको सांस्कृतिक चाडको हो भनेर वाइपार्टिसन विद्येयकको रुपमा स्थापित भएर ५ मतका विरुद्ध १ सय २३ मतले पारित भएको विज्ञाप्तीमा उल्लेख छ । मेरिल्याण्ड हाउस अफ एसेम्बेली, डिस्ट्रिक्ट-८ का डेलिगेट ह्यारी भण्डारीले जारी गरेको बिज्ञप्ती ।

 

प्रेस विज्ञप्ति
मार्च १८, २०२२
अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेलीमा दशै विधेयक पारित भएको खुशीको खबर सुनाउन पाउँदा अत्यन्तै गौरवको अनुभूति भैरहेको छ। विधेयक शुक्रबार मार्च १७, २०२२, अमेरिकी पूर्वी समयअनुसार ११:२० बजे १२३-५ मतको भारी बहुमतले पारित भएको हो।
यो खुशीको खबर सुनाइरहदा म नाटककार गोपालप्रसाद रिमालले भन्नुभएको एउटा बहुचर्चित भनाइ सम्झिरहेको छु, एक जुगमा एक दिन एकपटक आउँछ। साँच्चै नै अमेरिकाको नेपाली डायस्पोराका लागि यो दिन एक जुगमा एकपटक नै आएको हो।
अमेरिकामा एक नेपाली मूलको सांसदले दशै नेपालमा उत्पति भएको सांस्कृतिक चाड हो भनेर विधेयक प्रस्तुत गर्ला र त्यो बाइपार्टिसन विधेयकका रूपमा स्थापित भएर ५ मतका विरूद्ध १२३ मतले पारित होला भनेर कस्ले सोच्न सक्थ्यो होला र?
सामान्यत: सबैका लागि असम्भव जस्तै लाग्ने त्यो सपना मैले भने अमेरिका आएर यही बस्छु भन्ने लागेकै दिनदेखि देख्न थालेको थिएँ, आज त्यो विपना हुँदा मेरो दिमाखमा एउटै कुरा खेलिरहेको छ, ‘राजनीतिको शव्दकोशमा असम्भव भन्ने शव्द हुदैन’ यसैकारण भनिएको रहेछ।
जतिबेला विधेयक पारित भैरहेको थियो, मैले अमेरिका आएको दिन र त्यतिबेला गरेका कठिनतम् संघर्षका दिनहरू सम्झें। मेरो हजुरबुबाले अन्तिमपटक दशैको टीका लगाइदिदै नेपाल र नेपालीको इज्जत राखेस् भनेर दिएको आशीर्वाद सम्झें. नेपालबाट आउँदा ल्याएको चन्दसूर्य अंकित झण्डा सम्झें, अनि चार वर्षअघि विधायकमा निर्वाचित भएपछि नेपाली पहिरनमा गीता छोएर लिएको सपथ सम्झें, ती सबै कुराले मलाई अत्यन्त भावुक बनाए। अर्कोतिर, संसारकै शक्तिशाली र लोकतान्तिक मुलुक संयुक्त राज्य अमेरिकामा नेपाल र नेपालीले मनाउँदै आएको दशैलाई नेपालमा उत्पति भएको चाडका रूपमा दर्ता भैरहेको थियो, त्यसले मलाई गौरवको अनुभूति गराइरहेको थियो।
यो विधेयकको प्रस्तावनामै लेखिएको छ, नेपालमा उत्पति भएको दशै असत्यमाथि सत्यको जीतको खुशीयालीमा मनाइने एक सांस्कृतिक चाड हो। यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो राज्य संसद मेरिल्याण्डको ४४४औं संसद अधिवेशनमा प्रस्तुत भएको हो जुन संसदको भुईँ जर्ज वासिङ्टन, जेफर्सजजस्ता अमेरिकी इतिहासका शीर्ष व्यक्तिहरूले नापेका हुन्। त्यस्तो संसदमा नेपाल नै लेखिएको विधेयक प्रस्तुत गर्नु र यो अवस्थामा ल्याइपुर्याउनु मेरो लागि गर्वको विषय हो।
म यतिबेला घरदेशमा होस् वा परदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा यो सफलताको श्रेय सरोबरी बाँड्न चाहन्छु, यो हामी सबैको सामुयिक प्रयासको सफलता हो। हामी जो जहाँ थियौ, सबैले प्रयास गरेकै हौ, म विधायक भएकाले निमित्त भएँ, त्यो यहाँहरूको आशीर्वाद र मेरो भाग्यको कुरा हो।
हामी यतिमा अडिनु हुदैन। किनकि, अझै विधेयक कानून बनिसकेको छैन, सिनेटमा प्रक्रियामा रहेको छ। मैले हाउस अफ एसेम्बेलीमा पारित गराएर महत्वपूर्ण खुट्किलो पार गराएको छु र सिनेटबाट पनि पार लगाउन हरसम्भव प्रयास गरिरहेको छु। हामीसँग यो प्रक्रियाका लागि थोरै समय छ, काम भने अझै पनि धेरै बाँकि छ।
मलाई आशा एवं विश्वास छ, सिनेटबाट पनि अर्को सुखद समाचार आउने छ। त्यतिञ्जेलसम्म म यहाँहरू सबैलाई आफ्नो समर्थन कायम राख्दै धैर्य धारण गर्न अनुरोध गर्दछु।
यहाँहरूको सहयोग, साथ र समर्थनको हार्दिक अपेक्षासहित,
डेलिगेट ह्यारी भण्डारी, पीएचडी
सदस्य, मेरिल्याण्ड हाउस अफ एसेम्बेली

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : ५८ बजे