भारतको लोकसभाका ३३ सदस्यलाई सोमबार निलम्बन गरिएको छ । हालसम्म कुल ४५ लोकसभा सदस्य निलम्बित गरिएका छन् । यसै विषयलाई लिएर भारतीय राष्ट्रिय कंग्रेसले नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारमाथि संसद् र लोकतन्त्रमाथि आक्रमणको आरोप लगाएको छ ।
कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले मोदी सरकारले संसद् र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहेको बताएका हुन् । अध्यक्ष खड्गेले भनेका छन्, ‘पहिला घुसपैठीले संसद्मा आक्रमण गरे । त्यसपछि मोदी सरकारले संसद् र लोकतन्त्रमाथि आक्रमण गरिरहेका छन् ।’
यसअघि पनि भारतीय लोकसभाका १३ र राज्यसभाका १ सदस्यलाई शीतकालीन सत्रको बाँकी समयका लागि निलम्बित गरिएको थियो । कंग्रेस अध्यक्ष खड्गेले ‘तानाशाही’ मोदी सरकारले सांसदहरूलाई निलम्बन गरेर ‘सबै लोकतान्त्रिक मूल्य मान्यतालाई डस्टबिनमा फ्याँकिदिएको’ पनि बताएका छन् । सोमबार निलम्बन हुने सांसदमा कंग्रेस नेता अधीर रञ्जन चौधरीसमेत रहेका छन् ।
कंग्रेस, तृणमूल कंग्रेस, डीएमकेलगायतका विपक्षी सांसदलाई सोमबार संसद्मा नाराबाजी र प्लेकार्ड बोकेको आरोपमा निलम्बन गरिएको जनाइएको छ । विपक्षी दलहरूले संसद्मा भएको आक्रमणका विषयमा गृहमन्त्री अमित शाहको जवाफ मागिरहेका छन् । कंग्रेसले अब मोदी सरकारले विपक्षीविहीन संसद् चलाउन चाहेकोसमेत आरोप लगाएको छ । अध्यक्ष खड्गेले भनेका छन्, ‘बिनाविपक्षको संसद्का साथ मोदी सरकारले अब लामो समयदेखि विचाराधीन अवस्थामा रहेका कानुन लाद्न सक्छन् । कुनै पनि असहमतिलाई बिनाबहस सरकारले कुल्चिन सक्छ ।’
भारतको संसद् भवनभित्रै पुगेर केही युवाले गरेको प्रदर्शनको घटनाले संसद्को सुरक्षा बन्दोबस्तीमाथि एक पटक पुनः प्रश्न उठेको हो । गत बुधबार नयाँ संसद् भवनमा लोकसभाको बैठक भइरहेकै बेला दर्शकदीर्घाबाट दुई जना युवकहरू संसद्भित्र कुदेका थिए ।
उनीहरूले पहेंलो रंगको धूवाँ संसद् भवनभित्र फैलाएर प्रदर्शनसमेत गरेका थिए । घटनामा संलग्न ६ जनालाई दिल्ली प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ।